संविधान संशोधन विधेयक संसदमा पेश

admin

काठमाडौं, १८ जेठ : संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ ।  कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । संविधानको अनुसूचीमा फरक नक्सा पर्न गएकाले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्ने प्रस्तावसहित विधेयक ल्याएको हो ।

सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ । यसअघि १४ जेठको संसद् बैठकमा नै संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम रहेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्ने भन्दै समय मागेपछि विधेयक पेश अन्तिम समयमा रोकिएको सरकारले जनाएको थियो ।

यसैबीच प्रमुख प्रचिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । भारतले लिपुलेक क्षेत्रमा सीमा मिचेको र वार्ताका लागि पटक पटक प्रयास गर्दा पनि भारतले आलटाल गर्दै आएपछि नेपालले एकतर्फीरुपमा आफ्नो भूमि समेटेर संशोधित नक्सा जारी गरिसकेको छ ।

सो नक्साअनुसार, नेपालको प्रतीक चिन्ह निशाना छापमा पनि उल्लेख गर्नुपर्ने र सो कार्यका लागि संविधानमै संशोधन गर्नुपर्ने भएकाले सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको हो ।

प्रतिक्रिया