संसद् बैठक तोकिएकै समयमा बोलाउने ओली समूहको निर्णय

admin

काठमाडौं, १२ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले सर्वोच्च अदालतको फैसला स्वीकार्दै तोकेको समयभित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको छ । समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय असंवैधानिक ठहर गरेर पुनर्स्थापित गर्दै फैसला सुनाइएको १३ दिनभित्र संसद्को अधिवेशन बोलाउन आदेश दिएको छ । यस्तै स्थायी कमिटी बैठकले समग्र परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकपछि प्रवक्ता ज्ञवालीले प्रतिनिधि सभाको अधिवेशन निर्धारित समयमै बोलाइने र त्यसपछिको अवस्था कस्तो हुन्छ भन्नेबारे सबै पक्षसँग छलफल गर्ने निर्णयसमेत भएको बताए । बैठकले देशका विभिन्न ठाउँमा यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने पनि निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया