संसद विघटन हिजो, आज र भोलि पनि ठिक हो, सम्हालिएर अगाडि बढ्न सक्छौं : ओली

admin

काठमाडौं, १० असोज : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले दुई पटक गरेको संसद विघटनको बचाउ गरेका छन् । ‘ताजा जनादेशमा जाने कुरा राम्रो हो, राम्रो भएकैले संसद विघटन गरिएको हो तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पछार्नका लागि जुन तानावाना बुनियो’, अध्यक्ष ओलीले भने, ‘ताजा जनादेशमा जाने कुरा हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोलि पनि ठिक हो ।’

आइतबार केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा अध्यक्ष ओलीले ताजा जनादेशमा जाने कुरा प्रतिगमन हुन नसक्ने भन्दै आफ्नो गलत कदमको बचाउ गरेका हुन् । त्यस्तै अध्यक्ष ओलीले माओवादीसँगको पार्टी एकता सोचि विचारी नै गरेको पनि बताए । ‘माओवादीसँगको एकता सोचिविचारी नै गरेको हो । तर त्यो एकता भंग गर्न जुन ढंगको षड्यन्त्र भयो, त्यसलाई चिर्न नसक्दा विघटन रोक्न सकिएन’, अध्यक्ष ओलीको भनाइ छ ।

यसअघि एमाले बैठकमा समूहगत रुपमा तीन दस्तावेजमाथि भएको छलफलमा संसद विघटन, पार्टी एकता कायम रहन नसक्नु जस्ता विषय राजनीतिक प्रतिवेदनमा प्रस्ट नआएको भन्दै प्रश्न गरेका थिए । सोही क्रममा अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारबाट धेरैले सिक्नुपर्ने गरी काम गरेको बताउँदै आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको बताएका छन् । कुनै कारणले धक्का खायौं वा प्रतिपक्षमा पुग्यौ भन्दैमा आत्तिनु नपर्ने भन्दै ओलीले भने, ‘फेरि पनि सम्हालिएर अगाडि बढ्न सक्छौं । कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन ।’

प्रतिक्रिया