सकियो अध्यक्षद्वयको छलफल, के भयो आज ?

अस्मिता बेल्बासे

काठमाडौं, २१ असार : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार भएको छलफल सकिएको छ ।

पार्टीभित्रको विवाद मिलाउन अध्यक्षद्वयले छलफल गरेका हुन् । आफ्ना पक्षमा दुई र दुई जना नेताहरू पनि सँगै राखेर प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आइतबार झन्डै डेढ घन्टा छलफल भएको छ ।

सो छलफल फुटतर्फ पुगेको नेकपाको एकता जोगाउने विषयमा कुराकानी भएको तर दुवै पक्ष आफ्ना अडानबाट पछि नहटेको एक नेताले जानकारी दिएका छन् । सोमबार स्थायी कमिटीको बैठक बस्नुअघि फेरि छलफल गर्ने सहमति भएको पनि ती नेताले जानकारी दिएका छन् ।

छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए भने दाहालसँगै ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी भएका थिए ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेटेर जस्तोसुकै कदम चाल्न सक्ने जानकारी गराएको र मन्त्रीहरुलाई बोलाएर आफू कुन कित्ताको हो प्रष्ट पार्न भनेपछि अवस्था झनै बिग्रिएको छ ।

आइतबार बिहान प्रचण्ड, झलनाथ खनाल, माधव नेपालसहितका नेताहरुले राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीले चाल्ने अप्रिय कदममा साथ नदिन र आफूहरुले राष्ट्रपतिविरुद्ध कुनै पनि योजना नबनाएको प्रष्ट पारेका छन् । स्थायी कमिटी बैठकमा ओलीको राजीनामाको माग उठेपछि नेकपाभित्र विवाद बढेको हो ।

ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनैपर्ने प्रचण्ड र नेपाल समूहको अडान र राजीनामा दिन नहुने ओली समूहको अडानले नेकपाको स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ ।

शनिबार बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि सोमबारसम्मको लागि स्थगित भएको छ । छलफलबाट ओली र दाहाल उठे पनि दुबै पक्षका चार नेता भने बालुवाटारमै रहेको स्रोतको भनाइ छ ।

नेकपाको स्थायी समिति बैठक सोमबार बिहान ११ बजे बस्ने भनिएको छ । उक्त बैठक हुनुअघि ओली र दाहालबीच फेरि वार्ता हुनेछ ।

प्रतिक्रिया