सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा तल झर्‍यो, थप १२ जनाले ज्यान गुमाए

admin

काठमाडौं, ३ असोज : नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा तल झरेको छ । बितेको २४ घण्टामा एक हजार चार सय १३ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या २४ हजार तीन सय १३ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म सात लाख ४९ हजार दुई सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै बितेको २४ घण्टामा सात सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार १३ जनाको नमुना परीक्षण गर्दा सात सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा परीक्षण गरिएका नमुनाको सात दशमलव ३३ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । आइतबार थपिएकासहित नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ७३ हजार पाँच सय ३४ पुगेको छ । यही अवधिमा थप १२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४० पुगेको छ ।

अहिले तीन सय ९० जना संक्रमितको आईसीयू र एक सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै बितेको २४ घण्टामा कोरोनाविरुद्धको २१ हजार तीन सय ६० मात्रा खोप लगाइएको छ । योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ५५ लाख ७८ हजार आठ सय ६५ र एक मात्रा लगाउनेको संख्या ६२ लाख तीन हजार तीन सय १६ पुगेको छ ।

प्रतिक्रिया