सङ्कट समाधानमा सरकार गम्भीर भएन : महामन्त्री डा कोइराला

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २३ असार: नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न सङ्कट समाधानका लागि सरकारले कुनै प्रभावकारी नयाँ योजना दिन नसकेको बताउनुभएको छ ।

सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालले आज आयोजना गरेको विपीको प्रजातान्त्रिक समाजवाद र पार्टीको आगामी महाधिवेशन विषयक कार्यक्रममा उहाँले सरकारले रेल र पानीजहाजका सपना बाँडेर जनताबाट भोट पाएपनि सङ्कटका बेलामा जनतालाई बचाउने भन्दा कुर्सी जोगाउन लागेको आरोप लगाउनुभयो ।

महामन्त्री कोइरालाले काँग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद गरिब नागरिकलाई कसरी धनी बनाउने भन्ने चिन्तन भएको बताउँदै गरिबलाई धनी बनाएर धनी र गरिबबीचको दूरी कम गर्ने विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी चिन्तन भएको उल्लेख गर्नुभयो ।

काँग्रेसको सङ्गठनलाई एकताबद्ध बनाउन र आम नेता कार्यकर्तामा ऊर्जा थप्नका लागि पनि पार्टीको १४औँ महाधिवेशन आवश्यक भएको बताउँदै उहाँले महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको अवगत गराउनुभयो ।

उहाँले महाधिवेशनका लागि नयाँ संरचना अनुसारको पार्टीको साङ्गठनिक समायोजनको काम, क्रियाशील सदस्यता वितरण र नवीकरण सकेपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्ने बताउँदै आगामी महाधिवेशनले काँग्रेसमा नयाँ सन्देश र नयाँ ऊर्जा थप्ने बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानमा विपी कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादलाई समेटिएको बताउनुभयो ।

काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशी, पूर्वसांसद किरण यादव, नेपाल विद्यार्थी सङ्घका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागार्इं, पूर्वमहामन्त्रीद्वय मनोजमणि आचार्य र प्रतिमा गौतम लगायतले विपीको प्रजातान्त्रिक समाजवाद र काँग्रेसको आगामी महाधिवेशनका विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया