सङ्घीयता कार्यान्वयन सफल रुपमा अघि बढेको छ : मुख्यमन्त्री पोखरेल

राष्ट्रिय समाचार समिति

गुल्मी, १० भदौ :  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान अवस्थामा सङ्घीयता कार्यान्वयन प्रक्रिया सफल रुपमा अघि बढेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारले सुधारका प्रक्रिया अघि बढाएकामा त्यो नरुचाउनेले सङ्घीयताको विरोध गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले आफूहरु यतिबेला सङ्घीयता कार्यान्वयनको सङ्घारमा हिँडिरहेको बताउनुभयो । संविधानको मूल मर्मअनुसार सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मुख्यमन्त्री पोखरेलले गत वर्ष प्रशासनिक संरचना निर्माणमा ढिलाइ भए पनि विकास निर्माणका हिसाबले प्रदेश नं ५ पहिलो स्थानमा रहेको दाबी गर्नुभयो ।

“सङ्घीयता अघि आर्थिक वृद्धिदर चार प्रतिशत मात्र थियो, गत वर्ष ७.१ प्रतिशत पुग्यो, पहिलेको तुलनामा धेरै राम्रो तरिकाले अघि बढिरहेका छौँ”, उहाँले भन्नुभयो । प्रदेशको नाम र मुकामको विषयमा समिति बनाएको र त्यसले प्रारम्भिक तहको अध्ययन गरी विज्ञहरुलाई रायका लागि पठाएको उहाँले बताउनुभयो । मुख्यमन्त्री पोखरेलले आजै विपद् व्यवस्थापन सूचना केन्द्र रिडीमा जडान गरिएको साइरन प्रणालीको समेत उद्घाटन गरी रुरु क्षेत्रको बारेमा जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया