सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?

admin

काठमाडौं, मंसिर १० : अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उनकै निकट यौटा दैनिक पत्रिकामा आएपछि नेकपाभित्र अविश्वास थप चुलिएको छ ।

बैठक सकिएको केही क्षणमै सचिवालयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको संबोधनको पाठ हुबहु बाहिर छरपस्ट भएको छ । ‘अब उक्त विषय पनि सचिवालयको आगामी बैठकमा नयाँ र पेचिलो ढंगले प्रस्तुत हुने’ बताउँदै बहुमत समूहका एक जना सदस्य भन्छन् ‘अबदेखि महत्वपूर्ण बैठकमा बोलिएको अडियो रेकर्ड सबैले सबैलाई दिन सकिने गलत नजिर स्थापित भएको छ ।’

उनका अनुसार बैठकमा, ‘अडियो रेकर्ड गर्ने प्रचलन छैन र यसपटक गर्ने पनि भनिएको थिएन । तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्षले गरेको सम्बोधनको पूर्ण पाठको अडियो अन्नपूर्ण दैनिक र गोरखापत्र दैनिकमा साँझतिर सोझै बालुवाटारले उपलब्ध गराएको स्पष्ट भएको छ ।’

उनका अनुसार अन्नपूर्ण दैनिकले प्रधानमन्त्रीको स्वकीय सचिवालयले उपलब्ध गराएको अडियोको सम्पादित अंश भनेर उल्लेख गर्नुले पनि बैठकमा बालुवाटारले प्रविधिको चरम दुरूपयोग गरेको प्रमाणित भएको छ । उक्त घटनाले अब पार्टीको कुनैपनि बैठकमा रेकर्ड हुँदैन भन्ने कुरोको ग्यारेण्टी सकिएकाले भोलिका दिनमा कोही पनि सुरक्षित नरहने सन्देशसमेत दिएको छ ।

कम्युनिष्ट पार्टीको उपल्लो तहको बैठकमा बोलिएका र व्यक्त गरिएका धारणालाई रेकर्ड गरेर सम्पूर्ण आवाज आफू अनुकूलका मिडिया र व्यक्तिलाई उपलब्ध गराउने परिपाटीले समस्या झन् बल्झिने खतरा छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया