सञ्चयकोष कर्ताको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउँदा राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्‍याउँछ : अर्थमन्त्री

admin

काठमाडौं, ३१ भदौ : अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरू उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् । सञ्चयकर्ताहरूको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्‍याउँछ’, उनले भने, ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’

कोषको ६०औँ वार्षिकोत्सव समारोहको भर्चुअल रूपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सञ्चयकर्ताहरूको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए । मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्य प्रणालीलाई अझै प्रविधिमैत्री बनाइ सञ्चयकर्ताहरूका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरे ।

सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७/०७८ सम्म चार खर्ब ३६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । अहिले सञ्चय कोषमा तीन खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा एक अर्ब ५८ करोड रुपैयाँ छ । कोषको दायित्व चार अर्ब ६७ करोड रुपैयाँ रहेकोे छ । सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताहरूका लागि सात हजार पाँच सय रुपैयाँका दरले दुई पटकसम्म प्रसूति खर्च उपलब्ध गराउँछ ।

यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परि ज्यान गएमा वा पूर्ण अङ्गभङ्ग भएमा दुई लाख रुपैयाँ प्रदान गर्दछ । सञ्चयकर्ताको सेवाकालमा ज्यान गएमा हकवालालाई एकमुष्ट ४० हजार रुपैयाँ काजकिरिया खर्च उपलब्ध गराउँछ । यसैगरी कोषले सामान्य औषधोपचारको हकमा एक लाख तथा घातक रोगको हकमा १० लाख रुपैयाँसम्मको उपचार खर्च सोधभर्ना गर्ने गरेको छ । वि.सं. २०१९ भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि वि.सं. १९९१ मा सैनिक द्रव्य कोष, वि।सं। २००१ मा निजामती प्रोभिडेन्ट फन्ड र वि.सं. २०१७ मा सञ्चय कोष विभागको नाममा यसको काम कारबाही सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया