ऋषेश्वर मन्दिरमा सप्तऋषिको पूजामा एक लाख महिला सहभागी

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १७ भदौ : काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर मन्दिरमा करीब एक लाख महिलाले सप्तऋषिको पूजा गरेका छन् । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन यहाँ मेला लाग्ने गर्छ । मन्दिरमा महिला गए रातिदेखि दर्शनका लागि लाम लागेका थिए । उक्त स्थानमा परापूर्व कालमा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषि आई पूजा गरेको विश्वासका साथ उहाँहरुको प्रतिकका रुपमा मूर्ति राखिएको छ । यहाँ पूजा गर्नाले सबै दोष नाश भई समृद्धि प्राप्त हुने विश्वास रहिआएको छ ।

हरितालिका तीजका दिन व्रत बसेका महिलाले आजको दिन नदी, ताल, तलाउ र पोखरीमा दतिवनले दात माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने तथा चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दान दक्षिणा दिने चलन छ । ऋषिको पूजा गर्दा विवाहित महिलाले अटल सौभाग्यका लागि चुरा, धागो, सिन्दूर र पोते पनि चढाउँछन् ।

रजस्वलाको क्रममा अन्जानवस भएका भूलबाट छुटकारा पाउन महिला सप्तऋषीको पूजा गरी पूर्णरूपमा सुद्ध हुने विश्वास गरिएको छ । पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ दतिवन तोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्ने हुन्छ । काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समिति र सामुदायिक शहरी स्वास्थ्य क्लिनिकले व्रतालुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

प्रतिक्रिया