सप्तरीका वडाध्यक्षमा भेटियो कोरोना

admin

राजविराज, १९ असार : सप्तरीका एक जना वडाध्यक्षलाई कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिका वडा नं ७ का ५८ वर्षीय वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनी क्वारेन्टिन व्यवस्थापनमा सक्रिय रहँदै आएका थिए । उनसँगै गाउँपालिकाका अन्य वडाध्यक्ष, क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगीसहित अन्य कर्मचारीको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्ने तयारीसमेत गरिएको प्रमुख यादवले बताए ।

सो वडाको क्वारेन्टिनमा रहेकामध्ये करिब २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २६७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोनाबाट १३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताए ।

प्रतिक्रिया