सभामुख निर्वाचनको कार्यतालिका बन्यो

admin

काठमाडौं, पुस ११ : प्रतिनिधि सभाको सभामुखका लागि यही पुस १४ गते निर्वाचनको प्रस्ताव गरिएको छ। प्रतिनिधि सभा सचिवालयले राजनीतिक दलसँगको अनौपचारिक परामर्शका आधारमा निर्वाचन कार्यतालिका तय गरेको हो। औपचारिक रूपमा कार्यव्यवस्था परामर्श समितिले भने कार्यतालिकाबारे निर्णय गरिसकेको छैन।

शुक्रबारको प्रतिनिधि सभा बैठकबाट निर्वाचन कार्यतालिका प्रकाशनका लागि निर्देशनको तयारी गरेको छ। सचिवालयले तयार पारेको प्रस्तावित कार्यतालिकाअनुसार यही पुस १३ गते उम्मेदवारको मनोनयन हुनेछ भने १४ गते निर्वाचन हुनेछ। सदनको निर्देशनानुसार संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले कार्यतालिका प्रकाशन गर्नेछन्। “हामीले अनौपचारिक परामर्शका आधारमा कार्यतालिका प्रस्ताव गरेका छौँ।

हामीले १३ गते मनोनयन र १४ गते निर्वाचनको मिति प्रस्ताव गरेका छौँ। राजनीतिक रूपमा कुनै अर्को निर्णय नभएमा यही कार्यतालिका अगाडि बढ्छ”, सचिवालय स्रोतले भन्यो। सभामुखको उम्मेदवारी चयनलगायतका विषयमा राजनीतिक परामर्शका लागि यसअघि अधिवेशनको पहिलो बैठकबाट दोस्रो बैठकको अवधि एक साता तोकिएको थियो तर यसबीचमा राजनीतिक दलबीच औपचारिक रूपमा परामर्श भएको छैन।

पुस ४ गतेको परामर्श बैठकमा भने आज कार्यतालिका सार्वजनिक गर्ने सहमति भएको थियो भन्ने खबर गाेरखापत्र दैनिकमा छ। सभामुखमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवार उठाउने निश्चित छ तर संवैधानिक व्यवस्था अनुसार सभामुखमा उम्मेदवारी दिन तत्कालीन एमालेबाट उम्मेदवार बनेकी उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको राजीनामा आवश्यक छ। उनको राजीनामा सभामुख चयनको कार्यतालिका अघि वा पछि यकिन भइसकेको छैन।

प्रतिक्रिया