सभामुख सापकोटा, प्रचण्ड लगायत सांसदहरुले लगाए खोप

admin

काठमाडौं, १९ फागुन : प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको छ । बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको हो ।

पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा लगायत सांसदहरुले कोरोना विरुद्धको खोप लगाएका छन् । बुधबार सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष लगायत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सांसदहरुले खोप लगाइसकेका छन् । पुनःस्थापना पछि फागुन २३ गते संसद् बैठक बस्दैछ । संसद् बैठकअघि सबैलाई खोप अनिवार्य गरिएको छ ।

कोरोना विरुद्धको खोप लगाइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले कोरोना विरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको प्रतिक्रिया दिए । खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका कारण निर्धक्क भएर सबैले लगाउनु हुनेमा उनले विश्वास व्यक्त गरे ।

उनले भने, ‘यसको असर प्रभाव बारे त मैले भर्खरै लगाउँदै छु । मैले सबै कुरा भन्नु त हतार होला तर मलाई खोप लगाइसकेपछि अहिले भएको अनूभुति के छ भने यो बहुत सहज छ । यो वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको भएपछि यसमा पुरै निर्धक्क भएर सबैले लगाए हुन्छ ।’

सभामुख सापकोटाले सांसदहरुलाई खोप लगाउन गरिएको व्यवस्थापन राम्रो रहेको पनि बताए । खोप अभियान सफल भइ विश्वव्यापी रुपमै कोरोनामाथि विजय प्राप्त गर्नेमा उनले विश्वास व्यक्त गरे ।

त्यसैगरी महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरु, सभामुख, अध्यक्ष तथा उपाध्यक्षहरुको नीजि सचिवालयमा कार्यरत कर्मचारीहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु र संसदीय मामिला पत्रकारहरुले खोप लगाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया