समृद्ध राष्ट्र निर्माण गर्न सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री राई

राष्ट्रिय समाचार समिति

विराटनगर, १४ असोज : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्ध राष्ट्र निर्माण गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली र छठ पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले चाडपर्वले अनेकतामा एकता ल्याएको बताउनुभयो ।

मुख्यमन्त्री राईले देश क्रमशः शान्ति, स्थिरता र विकासको बाटोमा अघि बढेको भन्दै सुशासन, विकास र राजनीतिक स्थिरता कायम गरी राष्ट्र निर्माणमा लाग्नुपर्ने बताउनुभयो । निजी क्षेत्रको लगानी बढाउन प्रदेश सरकारले प्रदेशभर सार्वजनिक जग्गाको खोजी गरिरहेको उहाँले बताउनुभयो ।

“सार्वजनिक जग्गाको उपयोग गर्न प्रदेश सरकारले दीर्घकालीन योजना बनाएर उद्योग स्थापनामा जोड दिँदै आएको छ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री राईले सरकारले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने वातावरण बनाउन प्रतिबद्धता व्यक्त गर्नुभयो । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले चाडपर्वले उद्योगी एवम् व्यापारीको ऊर्जा बढाउन प्रेरणा मिलोस् भनी शुभकामना दिनुभयो ।

प्रतिक्रिया