सरकारको कामको गति क्रमशः बढाउँदै जान्छौँ : मन्त्री भट्टराई

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २३ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिष्ट पार्टीको सरकार कुनै गलत दिशामा नरहेको र सही ठाउँमै रहेको बताउनुभएको छ ।“सरकारको गति आवश्यकताअनुरुप नभएको हुनसक्छ तर सही दिशामा रहेको गाडी सुरक्षितरुपले गन्तब्यमा पुग्छौँ”, उहाँले भन्नुभयो, “अब सरकारको कामको गति पनि क्रमशः बढाउँदै जान्छौँ र समयमै गन्तब्यमा पुग्छौँ ।”



प्रेस सङ्गठन नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले नेपाल कम्युनिष्ट पार्टी र वर्तमान सरकारलाई जनताप्रतिको जवाफदेहिता रहेको बताउँदै अब आफ्ना कार्यशैली, केही नीतिलाई बदल्ने र कतिपय संरचनागत हिसाबले समेत सुधार गरेर सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गनुभयो ।

मन्त्री भट्टराईले निर्वाचनको पहिलो वर्ष संविधान र सङ्घीयताको कार्यान्वयनका साथै तीन तहको सरकारलाई व्यवस्थित गर्नुपर्ने र संविधानअनुसार कानून निर्माण गर्नुपर्ने आधार वर्षका रुपमा सम्पन्न गर्नुपर्ने भएकाले पूर्वाधार र आर्थिक समृद्धिका विषयमा ध्यान पुग्न नसकेको भए पनि मुलुकको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि कायम हुनु सुखद मान्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अमेरिकाले आफ्नो नीति बनाउँदा कतै न कतै नेपालको चर्चा हुन्छ, चीनले आफ्नो नीति बनाउँदा पनि नेपाललाई अलग गरेर बनाउन सक्दैनन् र मित्रराष्ट्र भारतले पनि आफ्ना नीति बनाउँदा नेपाललाई अलग राखेर आफ्ना नीति बनाउन सक्दैनन् ।”
मन्त्री भट्टराईले विगत लामो समयदेखिको अस्थिर राजनीति र अस्थिर सरकारका कारणले थोपरिएका समस्या जनताबाट प्रकट हुनु स्वभाविक भएको बताउँदै यिनलाई वर्तमान सरकार बनेपछि उत्पन्न भएका समस्या हुन भनेर सरकारको योग्यतासँग जोडेर हेर्ने गरिएको बताउनुभयो ।

उहाँले भ्रष्टाचार, सुशासन, शान्तिसुरक्षासँग सम्बन्धित अधिकांश विषय समस्या हिजो देखिका थुप्रिएर आएका समस्याका रुपमा रहेको र ती समस्यालाई टुङ्गोमा पु¥याउन सरकारको ध्यान पुगेको बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनका बेला जनतासमक्ष व्यक्त गरेका प्रतिबद्धता अबको निर्वाचनसम्ममा अधिकांश घोषणापत्रका लक्ष्य र कार्यक्रम सम्पन्न गर्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।

मन्त्री भट्टराईले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम केही प्राविधिक कारणले ढिलाइ भए पनि यस वर्षको पुसको मध्यसम्ममा भौतिक, प्राविधिकरुपले जहाज अवतरण गर्ने गरी काम भइरहेको बताउनुभयो । उहाँले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन यो विमानस्थलको काम समयमा सम्पन्न गर्ने विषयमा प्रधानमन्त्रीको पहिलो निर्देशन प्राप्त भएको बताउँदै अबको लक्ष्य कुनै पनि अवस्थामा परिवर्तन नहुने स्पष्ट पार्नुभयो ।

विमानस्थलको सञ्चालनको प्रक्रियाबारेमा मन्त्री भट्टराईले अन्तरराष्ट्रिय कम्पनीबाट समेत चासो देखिएको तर सरकारको प्रस्तावमा सहमत भएर सञ्चालन गर्न तयार भएमा सञ्चालनको जिम्मेवारी दिन सकिने अन्यथा नागरिक उड्डयन प्राधिकरणले नै सञ्चालन गर्ने पनि स्पष्ट पार्नुभयो ।मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपालमा भित्र्याउने सरकारको लक्ष्य सरकारले पूर्वाधार निर्माण र पर्यटक आकर्षण गर्ने प्रचारप्रसारको कामलाई पनि प्रभावकारी रुपले सञ्चालन गरिने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले पार्टी एकताको करीब ९० प्रतिशत काम टुङ्गिसकेको र बाँकी कामसमेत आपसी सहमति, विश्वासका आधारमा सम्पन्न हुनेसमेत स्पष्ट पार्नुभयो । उहाँले पार्टी एकतालाई भावनात्मक र साङ्गठनिक एकता एवं सुदृढताका साथ अघि बढाइनेसमेत बताउनुभयो । यसअघि मन्त्री भट्टराइले आज बिहान निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरी कार्यप्रगतिका बारेमा जानकारी लिनुभएको थियो । यस्तै मन्त्री भट्टराई त्यसलगत्तै गौतमबुद्धको जीवनीसँग सम्बन्धित रामग्राम, देवदह र तिलौराकोट क्षेत्रको अवलोकन गर्नुभएको छ । रासस

प्रतिक्रिया