सरकारद्वारा तक्मामा अंकित नेपालको नक्साबारे स्पष्टीकरण

admin

काठमाडौं, २९ चैत : सरकारले विभूषित तक्मामा अंकित नेपालको नक्साबारे स्पष्टीकरण दिएको छ । राष्ट्रपतिबाट प्रदान गरिएको विभुषणमा पुरानै नक्सा राखिएको भन्दै आलोचना भएपछि गृह मन्त्रालयले स्पष्टिकरण दिएको छ । विभुषणमा वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोरोना भाइरस (कोभिड-१९) का कारण वितरण हुन नसकेको विभूषण सुशोभन गरिएको स्पष्ट पारेको छ ।

सुशोभन भएको विभूषणमा अंकित नेपालको नक्साको सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले घोषणाको तयारी र वितरणको प्रस्तावित समय रहेका बेलाको नेपालको आधिकारिक नक्सा नै विभूषणमा अंकित भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई विसं २०७६ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भई २०७७ बैशाख १ मा वितरणको लागि तयारी गरिएको भएपनि कोभिड-१९ का कारण २०७७ बैशाख १ मा वितरण हुन सम्भव नभएकाले हालैमात्र उक्त सुशोभन भएको मन्त्रालयले विज्ञप्ति जारी गरी स्पष्ट पारेको हो ।

नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएका विभूषणमा सोहीबमोजिमको नक्सा अंकित भएको र यसको सुशोभन आगामी बैशाख १ गते गरिने मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया