सरकार र विप्लव समूहबीच आजको औपचारिक वार्ता सकियो, दुवै पक्ष सकारात्मक दिशाउन्मुख

admin

काठमाडौं, १९ फागुन : सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको औपचारिक वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ-आफ्नो कुरा राख्नेमा बुधबारको बैठक सीमित भएको बताइएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले (आज) बुधबारको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराएका छन् । दुवै समूहले वार्ता समिति नै गठन गरेर औपचारिक रुपमा वार्ता सुरु गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार उच्च सुरक्षा सतर्कतासहित वार्ता सुरु भएको हो ।

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता रहेको थियो भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए ।

विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ भने पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने माग गरेको छ ।सरकारले मंगलबारमात्र गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति बनाएपछि विप्लवले पनि प्रकाण्डको संयोजकत्वमा वार्ता समिति घोषणा गरेका थिए ।

सोपछि वार्ता टोली मंगलबार नै काठमाडौँ आइपुगेको थियो । सरकारले २०७५ फागुन २८ मा विप्लव समूहलाई ध्वंसात्मक गतिविधि गरेको ठहर गर्दै प्रतिबन्ध लगाएका थियो ।

प्रतिक्रिया