सरोकारवालाद्वारा एसईई खारेज गर्न माग

admin

काठमाडौं, २५ जेठ : सरोकारवालाहरुले संविधानअनुसार माध्यमिक शिक्षा कक्षा १२ सम्म लागू भएकाले १० कक्षामै लिइने एसईई परीक्षा खारेज हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले करोडौँ लगानी गरेर उपलब्धि नहुने भएकाले एसईई खारेज गर्नुको विकल्प नभएको पनि बताएका छन् ।

काठमाडौंमा भएको कार्यक्रममा शिक्षाविद् डा. विष्णु कार्कीले संविधान जारी भएर लागू भएकै दिनदेखि एसईई खारेज हुनुपर्नेमा शिक्षामन्त्रालयको कमजोर नेतृत्व र एसईईका नाममा केही व्यक्तिलाई राष्ट्रिय परीक्षा बोर्डमा जागिर दिने काम मात्रै भइरहेको बताए । एसईई परिक्षा संविधानको विपरीत रहेको, विद्यार्थी र अभिभावकमाथि अन्याय भइरहेको कार्कीको भनाइ छ ।

यस्तै परीक्षाविद् प्राध्यापक डाक्टर दिव्यमान कर्माचार्यले एसईई खारेज गर्नेबारे पटक-पटक छलफल र कुरा उठे पनि सरकारले गम्भीरताका साथ नलिएको बताए । कार्यक्रममा राष्ट्रिय अभिभावक महासङ्घका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले एसईईका नाममा विद्यार्थीबाट रकम उठाएर आर्थिक शोषण गर्ने काम भइरहेको बताए । विद्यार्थीलाई मानसिक तनाव दिने, अभिभावकलाई आर्थिक भार पार्ने र जहिल्यै हाउगुजी बनाउने काम भएको भण्डारीको भनाइ छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले शिक्षा ऐनका कारण एसईई खारेज गर्न नसकिने बताए । शिक्षा ऐनमा एसईई सञ्चालन गर्नुपर्ने प्रावधान रहेको र नयाँ ऐन नल्याएसम्म यो पद्धति हटाउन नसकिने उनको भनाइ छ । ‘एसईई एउटा परीक्षा मात्रै होइन, पद्धति हो । पद्धति हटाउन सकिँदैन’ पौडेलले भने ।

प्रतिक्रिया