सर्वसाधारणको चहलपहल बढ्यो पाटन दरबार सङ्ग्रहालयमा

admin

काठमाडौं, १७ मंसिर : पाटन दरबार सङ्ग्रहालयमा सर्वसाधारणको चहलपहल बढेको छ । देशमा कोभिड-१९ महामारी फैलिएर बन्दाबन्दी भएसँगै यस दरबार सङ्ग्रहालय बन्द भएको थियो ।

यही मंसिर ८ गतेदेखि दरबार सङ्ग्रहालय इच्छुक सर्वसाधारणका लागि खुला भएसँगै चहलपहल बढेको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म मात्र सङ्ग्रहालय खुल्ने गरेको छ । कोरोना महामारीपछि खुलेको दरबार सङ्ग्रहालयमा स्वदेशीका साथै विदेशी पर्यटक पनि भित्रिन थालिसकेका छन् ।

पाटन कष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा गएको शुक्रबार र शनिबार यस वर्षको कात्तिक नाच मञ्चन गरेसँगै दरबार सङ्ग्रहालयले पनि ती दिनबाट नाट्यकला महोत्सवको तस्बिरका साथै वृत्तचित्र प्रदर्शनी गरिरहेको छ ।

यसका साथसाथै दरबार परिसरमा आजभोलि खुबै मानिसको चहलपहल बढेको देखिन्छ । देशमा कोरोना कहर आएसँगै गएको वर्षको चैत महिनाबाट पाटनमा मानिसको आवागमन शून्य नै भएको थियो ।

यस महिनादेखि देशभर चिसो बढेसँगै केही घण्टा घाम ताप्न पाटन दरबार परिसरमा आफूहरू भित्रिने गरेको स्थानीय वृद्धवृद्धाको भनाइ छ । गएको वर्ष पाटनमा यस समय थुप्रै स्वदेशीलगायत विदेशी पर्यटकको चहलपहलका कारण मंगलबजार क्षेत्रमा हिँड्नसमेत ठेलमठेल हुन्थ्यो ।

मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाले पाटन दरबार क्षेत्र भरिएको छ । पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका सामग्री निर्माण हुन्छ । काठमाडौं उपत्यकाको प्रशिद्ध तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो सहरको रूपमा परिचित छ ।

प्रतिक्रिया