सर्वसाधारणको लापर्बाहीले स्वास्थ्यकर्मीमा संक्रमण बढ्छ सावधानी अपनाउ : स्वास्थ्य मन्त्रालय

admin

काठमाडौं, ७ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणको लापर्बाहीले स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड) संक्रमण बढ्ने भन्दै सबैलाई सावधानी अपनाएर काम गर्न ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमणको दर बढ्न गइ स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसाबले कम जोखिमपूर्ण रहे पनि संक्रमण दर बढाइरहेको बताए ।

उनले आम मानिसहरुले स्वास्थ्य सम्बन्धी सरकारले बनाएका मापदण्ड पूर्ण पालना गर्ने र कोरोनाविरुद्धको खोप अनिवार्य लगाएमा बढ्दो कोरोना संक्रमणलाई कम गर्न सकिने बताए ।

सह प्रवक्ता अधिकारीले ओमिक्रोन भेरियन्ट तीव्र संक्रामक रहेकोले घर परिवारमा पनि कोभिडबाट आफू बच्न र अरुलाई पनि बचाउनका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने र आफूलाई संक्रमण भए ७ दिनअघिसम्म भेटघाट गरेका मानिसहरुलाई सचेत गराउन अनुरोध गरे ।

उनले सरकारले स्वास्थ्यका पूर्वाधारहरु बढाए पनि स्वास्थ्यकर्मीहरु गुणात्मक रुपमा बढाउन असहज भएको बताए । सह प्रवक्ता अधिकारीले असावधानीका कारण कोरोनाबाट हुने जनधनको क्षति हुन नदिन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग र सचेत रहनुपर्ने बताए ।

यस्तै उनले कोभिड १९ संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य रुपमा आइसोलेशनमा बस्नुपर्ने र त्यसपछि पनि लक्षण देखिए थप आइसोलेशनमा बस्न सुझाव दिए ।

उनले कोरोना भएको ७ दिनसम्म आइसोलेशनमा बसेको छ र सातौँ दिनपछि कुनै लक्षण देखिएको छैन भने कोरोना परीक्षण गराउनुको कुनै औचित्य नरहेको पनि स्पष्ट पारे । अतिरिक्त खोप सरकारले उपलब्ध गराइरहेकोले पहिला लगाएको खोप मात्रै लगाउनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया