सहमति पालना गरी अब हामी स्वतन्त्र आकाशमा शान्तिपूर्वक हिंड्ने छौँ : विप्लव

admin

काठमाडौं, २१ फागुन : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेको बताएका छन् । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले शुक्रबारको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताए ।

उनले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाईसमेत दिए । उनले सरकार, यसका जिम्मेवार नेतृत्वगण र वार्तालाई सफलतातर्फ अग्रसर गराउन विभिन्न तहबाट भूमिका निर्वाह गर्ने सञ्चारकर्मी, सुरक्षाकर्मी, मानव अधिकारकर्मीलगायत सबैलाई सम्मानसहित धन्यवाद ज्ञापन गरे ।

‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन,’ उनले भने, ‘केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’ उनका अनुसार यो सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छ । ‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना छ,’ उनले भने ।

यसैक्रममा विप्लवले स्वतन्त्र आकाशमा शान्तिपूर्वक हिँड्न चाहेको बताएका छन् । उक्त समारोहमा उनले भने, ‘हामी स्वतन्त्रमुक्त आकाशमा शान्तिपूर्वक हिँड्न चाहन्छौँ । अब हाम्रा सहकर्मी योद्धाहरुलाई सरकारले मुक्त गर्ने विश्वास गरेका छौँ ।’ आजको सहमति सरकार नेकपाबीच भएको सहमति नभइ युवाको चाहना अनुसार भएको उनले बताए ।

विप्लवले भने, ‘आजको सहमति सरकार र एउटा दलबीच भएको सहमति मात्रै होइन । युवाहरुको चाहना अनुसार देशको समृद्धिका लागि गरिएको सहमति हो ।’ सरकार र नेकपा चन्द समूहबीच दुवै पक्ष राजनीतिक समस्या वार्ताबाट समाधान गर्ने, विप्लव समूहले सबै राजनीतिक गतिविधि शान्तिपूर्ण माध्यमबाट गर्ने भएको छ ।

यस्तै विप्लव समूहमाथि लागेको प्रतिबन्ध हटाउने, बन्दी रिहा गर्ने र मुद्दा फिर्ता गर्ने पनि सहमति भएको छ । उनले सहमतिमा आफू प्रतिबद्ध भएको पनि बताए । विप्लवले जस्तोसुकै परिस्थिति आएपनि सहिदको सपना मर्न नदिने पनि बताएका छन् ।उनले संयोगले (आज) शुक्रबार सुखानी दिवस पनि रहेको स्मरण गर्दै सहिदका सपना मर्न नदिने बताए । ‘हामीले जस्तोसुकै कठिनाइ भोग्नुपरे सहिदको सपना मर्न दिदैनौँ’ विप्लवको भनाइ छ ।

विप्लवले कम्युनिस्टहरु विद्रोही मात्र नभएर शान्तिका दूत पनि हुन् भन्ने तर्क समेत गरेका छन् । उनले समाजमा चार थरी मानिस पाइने बताए । ‘एकथरी शोषक र उत्पीडक हुन्छन् भने दोस्रो थरी उत्पीडित वर्ग हुन्छन्,’ उनले भने, ‘तेस्रो थरी मानिस गुन-गुन गर्छन्, उठ्न, जाग्न सक्दैनन् । चौथो थरी विद्रोह गर्छन् । कम्युनिस्टहरु विद्रोह गर्ने मानिस हुन् ।’ यद्यपि कम्युनिस्टहरु विद्रोह मात्र गर्दैनन्, परिस्थिति बदलिन्छ र राज्यले आफ्नो भूमिका निर्वाह गरेको बेलामा कम्युनिस्टहरु शान्तिका दूत पनि हुन् भन्ने उदाहरण आज आफूहरुले दिएको उनले बताए ।

उनले सरकारसँग भएको तीन बुँदेमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको प्रस्ट पारे । ‘कसैले आशंका गर्ने वा विभिन्न ढंगले उत्तेजनात्मक बनाउन जरुरी छैन,’ उनले भने, ‘हामी सहमतिप्रति प्रतिवद्ध छौं ।’ नेपाली समाज रुपान्तरणको प्रक्रियामा अघि बढिरहेको भए पनि पूरा नभएको उनले बताए ।

‘किसान, दलित, महिला लगायत उत्पीडित समुदाय सन्तुष्ट छैनन्,’ उनले भने, ‘जनताको प्रतिनिधि, श्रमजीवी वर्गको प्रतिनिधि हुनुको हिसाबले जहाँ जहाँ आफ्ना कुरा राख्नुपर्ने हो, हामीले राख्यौं । अहिलेको सरकारसँगको कुरा होइन, नेपालको राजनीतिक रुपान्तरणको समग्र प्रक्रियामा सहमत हुन सकेनौँ र आफ्नो तर्फबाट विद्रोह गर्यौं ।’ तर अहिले देशमा असुरक्षा बढेको, राजनीतिक अस्थिरता देखा पर्न थालेको उल्लेख गर्दै उनले आफूहरु शान्तिको दूत बनेर आवश्यक भूमिका निर्वाह गर्न तयार भएको प्रस्ट पारे ।

उनले नेपालको राजनीतिमा हुने विदेशी हस्तक्षेप स्वीकार्य हुनै नसक्ने बताएका छन् । ‘कुनै विदेशीले हस्तक्षेप गर्न खोज्यो भने हाम्रो जीवन गाडिन तयार छ । तर झुक्दैनौ’, विप्लवको भनाई छ । उनले जनतालाई फैसला गर्न वातावरण बनाउन जरुरी छ रहेको भन्दै जनताले सधैंभरी जनता दलाल पुँजीवादको चक्रमा सधै घुम्नुपर्ने नियतिको अन्त्य हुनुपर्ने बताए । उनले नेपाली जनताले आत्मत्वको निर्णय गर्न पाउने अधिकार दिनुपर्ने भन्दै त्यसका लागि आफुहरुको अडान कायमै रहेको बताए ।

‘हाम्रो अहिले पनि यो दृष्टिकोण छ । नेता दल सवैलाई चुन्यौ । हामी यहाबाट आग्रह गर्न चाहान्छौ कम्युनिस्टहरु युद्धको अन्त्य गर्छन् । जुन दिन कम्युनिस्ट विजय भएपछि हतियारको अन्त्य हुनेछ ।’ उनले घुम्दै फिर्दै रुम्जाटार भन्ने प्रवृत्ति नेपालमा देखिएको भन्दै त्यो प्रवृति बदल्नु जरुरी रहेको बताए । उनले त्यसका लागि आफु हातेमालो र सहकार्य गर्न तयार रहेको पनि बताए ।

प्रतिक्रिया