सांसद विकासको रु चार करोड बाँडफाँट

शर्मिला गुरुङ

बाजुरा, २८ कात्तिक  :  प्रतिनिधिसभा निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु चार करोड रकम बाँडफाँट गरिएको छ ।

भौतिक पूर्वाधार विकासअन्तर्गतको रकम बाजुराका नौवटै स्थानीय तहमा दुईवटा योजना पर्ने गरी विनियोजन गरिएको हो । प्रतिनिधिसभा सदस्य लालबहादुर थापाको संयोजकत्वमा बाँडफाँट गरिने रु चार करोड बजेटमा २० योजना तय गरिएका छन् । सदरमुकाम मार्तडीमा रहेको निर्माणाधीन बहुदेश्यीय कवर्डहल निर्माण कार्य पूरा गर्नको लागि रु ५० लाख बजेट विनियोजन गरिएको थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिनुभयो ।

कूल रु चार करोड बजेटमध्ये तीन करोड ९६ लाख विकास निर्माणमा छुट्याइएको छ भने चार लाख जिल्ला समन्वय समितिको प्रशासनिक खर्चमा विनियोजन गरिएको छ । योजना स्थानीय तह, पार्टी कमिटी र सर्वसाधारणको मागका आधारमा छनोट गरिएको प्रतिनिधिसभा सदस्य थापाले बताउनुभयो । रासस

प्रतिक्रिया