सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक

मनिषा थापा

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा व्यक्तिगत तथा सामूहिक गरी क्लबका २३ खेलाडीलाई सो सफलता मिलेको महासेनानी शशिकिरण रायमाझीले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाली सेनाका खेलाडीले ३१ रजत र ४९ कास्य पदक प्राप्त गर्नुभएको छ ।

प्रमुख सुरक्षा अङ्गका रूपमा रहेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पियन’ विभागीय टोली हो । आर्मी क्लबमा आबद्ध गौरिका सिंहले पौडीका विभिन्न खेलमा चार स्वर्णसहित नौ पदक जितेर यस प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीको परिचय स्थापित गर्नुभयो ।

तेक्वान्दो विधामा सेनाको विभागीय टोलीमा रहेर स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा आयशा शाक्य, सञ्जीव ओझा, सीना मादेन लिम्बु, निता गुरुङ, प्रशंसा क्षेत्री, काजल श्रेष्ठ, सक्षम कार्की र भूपेन श्रेष्ठ हुनुहुन्छ । यसैगरी कराँतेमा सङ्गीता मगर, प्रवीण मानन्धर र कुसुम खड्का तथा उसुमा विजय सिँजाली, सुस्मिता तामाङ र निमा घर्तीमगरले स्वर्ण पदक प्राप्त गर्नुभयो ।

यस्तै गल्फमा सुवास तामाङ, बक्सिङमा मीनु गुरुङ, जुडोमा पुनम श्रेष्ठ, दुवाथोलनमा हिमाल टमाटा तथा फुटबलमा सुमन अर्याल, विकेश कुथु, विकास खवास र सेसेहाङक आङदम्बेले स्वर्ण पदक हासिल गर्नुभएको हो ।

महासेनानी रायमाझीका अनुसार गत कात्तिक १ देखि १० गतेसम्म चीनको उहानमा आयोजित सातौँ विश्व सैनिक खेलकूद (सिज्मस्) मा भाग लिएका अनुभवी खेलाडीलाई सागमा सहभागी गराइएकाले उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुगेको हो ।

उहाँले भन्नुभयो, “खेलाडी छनोटमा हामीले विशेष ध्यान पु¥याउनुपर्छ, प्रतियोगिता जित्न खेल सामग्री, खेलाडीमा खेल्छु भन्ने भावना, खेलाडीको शारीरिक तन्दुरुस्ती तथा क्षमताले प्रभाव पार्छ, विभागबाट प्रदान गरिँदै आएको निरन्तर तालिमले पनि पदक जित्न मद्दत गरेको हो ।”

प्रतिक्रिया