साग उद्घाटन आज, दशरथ रंगशालामा भव्य तयारी

मनिषा थापा

काठमाडौँ : नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशालाको रुपमा रहेको दशरथ रंगशाला यतिबेला आफ्नो रुप फेरेको छ। महिनौ देखि पुननिर्माण भईरहेको रंगशालाको निर्माण कार्य सम्पन्न भएको छ। रातारात रंगशालालाई बेहुली झैँ शृंगारिएको छ।

दक्षिण एसियाका नेपालसहित सात राष्ट्रको सहभागिता रहने खेलकुदको महाकुम्भ दक्षिण एसियाली खेलकुद (साग)को १३औं संस्करण आज (आइतबार) काठमाडौंमा भव्य रूपमा उद्घाटन गर्न लागिएको हो। 

आज दिउँसो ३ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्ने कार्यक्रम छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै १३औं शुरु भएको घोषणा गर्ने जानकारी छ। उद्घाटन समारोहको पहिलो घण्टामा अन्तर्राष्ट्रिय परम्परा अनुसार देशभर घुमाएर ल्याइएको ओलम्पिक टर्चबाट दीप प्रज्वलन गर्ने, झण्डोत्तोलन गर्ने, सपथ ग्रहण गर्ने, स्वागत मन्तव्य राख्ने तथा राष्ट्रपतिद्वारा उद्घाटन तथा सम्बोधनको कार्यक्रम राखिएको छ। सागको उद्घाटन सत्रमा विशेषगी सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र विभिन्न क्षेत्रका कलाकारले प्रस्तुति दिनेछन् ।

राष्ट्रआज उद्घाटनकै दिन चार खेल हुनेछ। काठमाडौ, पोखरा र जनकपुरमा हुने १३ औं सागमा ३ सय १७ स्वर्ण, त्यतिनै रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्दा हुँदैछ।

यसपटक दीप प्रज्वलन सागमा लगातार चारपटक स्वर्ण जितेका कीर्तिमानी खेलाडी दीपक विष्टले गर्नेछन्। यस्तै दीपककी धर्मपत्नी समेत रहेकी सागकी अर्की स्वर्णधारी आयशा शाक्यले खेलाडीका तर्फबाट सपथ लिने कार्यक्रम तय भएको छ। त्यस्तै ब्याडमिन्टनका अम्पायर दीपक थापाले निर्णायकका तर्फबाट सपथ लिने भएका छन्। सन् २०१६ को रियो ओलम्पिकको ब्याडमिन्टनमा समेत उनले लाइन जजको भूमिका निर्वाह गरिसकेका छन्।

मार्चपासमा नेपालको झण्डा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने छन्। यसअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारससहित कमलको नाम झण्डा बोक्ने खेलाडीमा सिफारिस भएको थियो तर कार्यकारी समितिको बैठकले कमललाई उक्त जिम्मेवारी दिएको हो। कमलले यसअघि गतवर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा समेत नेपालको झण्डा बोकेका थिए।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औँ सागको उद्घाटन र समापन समारोहको अवसरमा सवारीसाधनको चाप व्यवस्थापन गर्न जोर–बिजोर नियम लागू गरेको छ।यत्तिकै पनि सवारीसाधनको चाप बढी हुने काठमाडौंमा सागको उद्घाटन र समापनका दिन जोर-बिजोर नियम लागू गरिएको हो।उद्घाटनका दिन आइतबार बिजोर र समापनका दिन २४ मंसिरमा जोर नम्बर प्लेटका सवारीसाधन मात्रै चलाउने पाइनेछ।

प्रतिक्रिया