साग खेलकुद : ब्याडमिन्टनमा नेपाल सेमिफाइनलमा

मनिषा थापा

कास्की : नेपाली ब्याडमिन्टन टोलीले पोखरामा आइतबारदेखि शुरु भएको १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

आइतबार पोखरा रंगशालामा भएको मेन्स टिम इभेण्टमा नेपाली टिमले भुटानी टिमलाई पराजित गर्दै सेमि फाइनल प्रवेश गरेसँगै पदक पक्का भएको छ ।

नेपालका लागि रत्नजित तामाङले भुटानका अनिष गुरुङलाई २१–६ र २१–९को सोझो सेटले पराजित गरेका हुन् । पोखरा रंगशालामा रहेकाे ब्याडमिन्टन कभर्ड हलमा भएको प्रतिस्पर्धामा दिपेश धामीले भुटानका नैदुप दोर्जेलाई सोझो सेटमा पराजित गर्ने क्रममा २१–१३, २१–१४ को नतीजा निकाले ।

त्यसैगरी प्रिन्स दाहालले भुटानी खेलाडी नोर्बु ड्रढुललाई २१–१२, २१– ५ को सेटमा पराजित गरे ।यसैगरी अर्को खेलमा जेसिका गुरुङले बंगलादेशकी विस्त्री खातुनलाई २१–१९ र २२–२० ले पराजित गरिन् ।

महिलातर्फको टिम इभेण्ट प्रतिस्पर्धामा नेपालकी नङसालदेवी तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१–१८ र १५–२१ र २१–१७ को सेटमा पराजित गरिन् । त्यसैगरी रसिला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८–२६ र २१–१९ को सेटमा पराजित गरेकी हुन् ।

ब्याडमिन्टनमा ७ स्वर्ण, ७ रजत र १४ कास्य पदकका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालामा रहेकाे ब्याडमिन्टन कभर्ड हलमा प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया