साग : महिला ह्याण्डबलमा बङ्गलादेशलाई कास्य

मनिषा थापा

तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बङ्गलादेशले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज बिहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तानमाथि ३१–१५ गोलको नतिजा निकाल्दै बङ्गलादेशले कास्य पदक जितेको हो ।

भारतको गुहावटीमा भएको १२ औंँ सागको उपविजेता बङ्गलादेशले पाकिस्तानमाथि सहज जित निकालेको हो । बाह्रौँ सागमा पाकिस्तान कास्य पदक विजेता हो । पहिलो हाफमा १७–५ ले अगाडि रहेको बङ्गलादेशले दोस्रो हाफमा १४ गोल गर्न सकेको थियो । पाकिस्तानले दोस्रो हाफमा १० गोल गर्न सकेको थियो ।

बङ्गलादेशका लागि मोसम्मत रुबिना वेगमले सर्वाधिक नौ गोलको योगदान दिनुभयो । त्यसपछि अल्पोना अख्तरले टोलीका लागि ६ गोल थप्नुभयो । खाडिजा खातुन र सुमी वेगमले पाँच पाँच गोलको योगदान गर्नुभयो । शिल्पी अख्तरले चार गोल जोड्नुभयो । खालेदा सुल्तानाले दुई गोल थप्नुभयो ।

पाकिस्तानका लागि नुसरत बानोले सर्वाधिक पाँच गोल गर्नुभयो । खालिदा रमजानले टोलीका लागि चार गोलको योगदान गर्नुभयो । आस्मा आल्ताफ र साइका रियाजले दुई दुई गोल जोड्नुभयो । साडिया बासिर र नाजिस मक्सुदले एक एक गोलको योगदान गर्नुभयो । बङ्गलादेशकी मोसम्मत वेगमले पहेंलो कार्ड पाउनुभएको थियो ।

प्रतिक्रिया