साझाद्वारा पाँच सय विद्युतीय कार्ड बिक्री

रिता घिसिंग

काठमाडौँ, १३ जेठ  : साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पु¥याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको छ ।

नियमित रुपमा साझा बस चढ्ने यात्रुलाई सुविधा पु¥याउन यो सेवा शुरु गरिएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उहाँका अनुसार संस्थाले अहिले सबै बसहरुमा ‘ई–टिकेटिङ’ सेवा लागू गरिसकेको छ ।

यात्रुले बसमा कार्यरत सहचालक वा साझा यातायातको पुल्चोकस्थित कार्यालयबाट कार्ड खरीद गर्न सक्छन् । नयाँ कार्ड खरीद गर्दा त्यसमा यात्रुले पूरै रकम पाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रु २०० को कार्ड किन्दा यात्रुले रु २०० नै पाउनुहुन्छ ।”

कार्डको प्रयोग गर्दा यात्रुसँग सहचालकलाई दिने जति ठिक्क छ छैन वा बसले बढी भाडा लिन्छ भन्ने चिन्ता नहुने साझाले जनाएको छ । यात्रुहरु आकर्षित भइरहे पनि अरू बसले पनि यो सेवा शुरु गरेपछि नै यसको प्रयोग व्यापक बन्दै जाने पाण्डेयले बताउनुभयो ।

नियमित रुपमा बसमा यात्रा गर्ने कर्मचारी, विद्यार्थीलगायतलाई यो सेवाले फाइदा पु¥याइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रुले यसबारेमा बुझ्दै जाँदा प्रयोग बढ्दै जाने विश्वास छ ।”

नेपालमा सार्वजनिक यातायातमा नयाँनयाँ प्रविधि भित्र्याइरहेको साझा यातायातको अहिले काठमाडौँ उपत्यका र उपत्यकाबाहिर चल्ने गरेर ७१ बस सञ्चालनमा छन् । साझाका एउटा ‘लो फ्लोर’ बससमेत सञ्चालनमा छ । साझाले स्थानीय सरकारसँगको सहकार्य बढाउँदै जाँदा उपत्यकाका धेरै पालिकाले साझाको शेयर खरीद गरिरहेका छन् । रासस

प्रतिक्रिया