साताको पहिलो दिन सुनचाँदीकै मूल्य घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ४ माघ : आइतबार सुनचाँदीको मूल्य घटेको छ । स्थानीय बजारमा सुनको मूल्य आइतबार तोलामा नै ७ सय रुपैयाँले ओरालो लागेर साताको पहिलो दिनको कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा ७ सय रुपैयाँले घटेको छ । ९२ हजारमा रुपैयाँमा शुक्रबार कारोबार भएको तेजाबी सुन आइतबार तोलामा ९१ हजार ३०० मा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । एक हजार २६० मा शुक्रबार कारोबार भएको चाँदी आइतबार भने एक हजार २३० रुपैयाँमा मूल्य निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य घटेकाले नेपाली बजारमा पनि सस्तो भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १८ सय ३० डलर छ । यो शुक्रबारको भन्दा २० डलर सस्तो हो ।

अमेरिकामा राष्ट्रपतीय चुनावमा विजयी भएका जो बाइडेनको कार्यकाल सुरु हुन लागेकाले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्न थालेको व्यवसायीको अनुमान छ । जो बाइडेनले आउँदो बुधबार सपथ ग्रहण गर्दै छन् ।

प्रतिक्रिया