सात कम्युनिष्ट पार्टीबीच एकता

admin

काठमाडौं, माघ २ : सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ। शुक्रबार रिपोटर्स क्लब नेपालमा सात वटा कम्युनिष्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन्। केन्द्रले अन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठभूमिबाट आएका ७ वटा पार्टी एकतापछि ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)’ घोषणा भएको जानकारी दिएको हो।

नयाँ घोषणा भएको पार्टीको अध्यक्षमा भविसोर पराजुली रहने जानकारी गराइएको छ। कार्यक्रममा पुनर्गठित ने.क.पा (माओवादी केन्द्र) का अध्यक्ष भविसोर पराजुलीले कम्युनिष्टहरूबीच विभाजन आइरहँदा एकता अभियान सुरू गरेको बताए। उनले सच्चा कम्युनिष्टहरूबीचको एकता अभियान चलेको भन्दै ध्रुवीकरणले गति लिने बताए।

उनले माओवादी आन्दोलनको इतिहास भावना र विचारलाई निरन्तरता दिने बताए। उनले भने, ‘तत्कालीन माओवादी केन्द्रलाई पुनर्गठित गरेर ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द) गठन गरेर यहाँसम्म आएका छौं।’ कार्यक्रममा वामपन्थी नेता दलवीर विश्वकर्माले एकता घोषणालाई ऐतिहासिक दिन भएको बताए।

उनले भने, ‘अहिले देशको राजनीति परिस्थितीको अवस्था सबै नेपालीले बुझिसकेका छन्।’ उनले सबै नेपाली राष्ट्र निर्माण गर्ने कुरामा सजग र सचेत हुनुपर्नेमा जोड दिए। उनले आफ्नो पार्टीले राष्ट्र निर्माण गरेर उद्देश्य सफल बनाउने जिकिर गरे।

पुनर्गठित ने.क.पा (माओवादी केन्द)का सल्लाहकार विनोद आचार्यले सात पार्टीबाट नेपालको भविष्य राम्रो बनाउने विश्वास गरे। उनले भने, ‘नेपाललाई समाजवादी नीतिबाट देशका कुनै पनि नागरिकले काम खोज्न विश्वका कुनै पनि स्थानमा जान नपरोस्।’ आचार्यले नेपालीले नै नेपाल बनाउने कामना समेत गरे। कार्यक्रमको सञ्चालन बालकृष्ण लम्सालले गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टी (गणतान्त्रिक), नयाँ नेपाल राष्ट्रिय पार्टी, नेपाल श्रमजीवी पार्टी, ने.क.पा (मार्क्सवादी), पूर्व जनमुक्ति सेना एकता पार्टी र थारु राष्ट्रिय मुक्ति मोर्चाबीच पार्टीगत एकता भएको हो। पार्टी एकतामा सैद्धान्तिक, राजनीतिक तथा संगठनात्मक विषयमा खुला र मैत्रीपूर्ण विचारधारात्मक छलफल गर्दै सम्मानजनक समायोजन र व्यवस्थापन गर्ने सहमति भएको छ।

प्रतिक्रिया