साना जलविद्युत्को बत्ती परीक्षण कार्य शुरु

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ५ असोज : भारतीय राजदूतावासको सहयोगमा निर्माण भइरहेको साना जलविद्युत्को मेशिन जुम्ला ल्याएर जडान भइरहेको छ । बत्ती जडानसँगै परीक्षणको रूपमा विद्युत्समेत बालिएको छ ।

फाइल फोटो

जुम्ला सदरमुकाममा रहेको एक मात्र बत्तीको विकल्प रहेको साना जलविद्युत् उपभोक्ता समितिको बत्तीको मेशिन समयमा बन्न नसकेपछि लामो समय अँध्यारो भएको र डेढ महीना भन्दा बढी डिजेलबाट कामचलाउ गरिएको थियो । निर्माणकार्यको जिम्मा लिएका निर्माण व्यवसायी भारतका पुष्करलाल दुवै र कम्पनीका कर्मचारी मेशिन बनाएर जडानका लागि अहिले खटिरहेका छन् । विद्युत्को एक मेशिनबाट भने परीक्षणको रुपमा विद्युत् बालिएको छ । सो मेशिन बनेमा दुई÷तीन दिनमै २२० केभी क्षमतामा विद्युत् उत्पादन हुने उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

प्राविधिकका अनुसार अब मेशिन दुई÷तीन दिनमा पूर्णरुपमा बन्ने र जुम्ला उज्यालो हुने आशा गरिएको निर्माणकार्यको जिम्मा लिएको पुष्करलाल दुवैले बताउनुभयो । मेशिन जडानको ठेक्का लिएको निर्माण कम्पनीले गत असार मसान्तसम्म सम्झौताअनुसार मेशिन जडान गर्न नसकेका कारण जुम्लावासी अँध्यारो मै बस्न बाध्य थिए ।

जिल्ला नै अन्धकार भएपछि सङ्घीय सांसद गजेन्द्रबहादुर महतको पहलमा जिल्लास्थित जनप्रतिनिधि र राजनीतिक दल स्थानीय प्रशासनसहितको सर्वपक्षीय बैठकले सांसद विकास कोषको रकममा डिजेलप्लान्ट खरीद गरेर वैकल्पिक उज्यालोको व्यवस्था गरेको थियो । मेशिन अहिले बनेर जुम्ला पुगेपछि भने डिजेल प्लान्ट रोकिएको छ । जम्मा रु तीन करोड आठ लाखको लागतमा नयाँ मेशिन जडान निर्माणकार्य भइरहेको बताइएको छ ।

कर्णालीकै पहिलो नगरपालिका चन्दननाथ तथा साविकको कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा विगत नौ महीनादेखि मेशिन जडानका कारण जुम्ला अन्धकारमा छ । जुम्लामा बिजुली बाल्नका लागि नेपाल विद्युत् प्राधिकरणलेसमेत डिजेल मेशिन पठाएर केही दिन कामचलाउ भएको छ । इञ्जिनीयर सन्तोष चौधरीले भदौ २८ गतेबाट हालसम्म साना जलविद्युत्को साझेदारीमा एक हजार १०० लिटर डिजेल खर्च गरी विद्युत् बालिएको बताउनुभयो । आफूहरु जुम्लाको बत्ती बिषयमा एक महीनादेखि खटिरहेको चौधरीले बताउनुभयो । रासस

प्रतिक्रिया