सामाजिक दुरीसहित ‘साकेला र देवाली’ मनाइँदै, प्रवेश गर्न नदिन युवाको सक्रियता

admin

खोटाङ, २४ बैशाख : किराँत राई समुदायको साकेला उभौली, हिन्दूधर्मावलम्बीको देवालीलगायत विभिन्न जातजातिको चाडवाडमा यसपटक विगतको जस्तो भीडभाड हुने छैन ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्लामा साकेला, देवालीलगायतका चाडवाड कम उपस्थितिमा मनाउन आग्रह गरेको छ । नजिकिँदै गरेको अवस्थामा मंगलबार बसेको समितिको बैठकले कम उपस्थितिमा धार्मिक, सामाजिक, सांस्कृतिक चाडवाड मनाउन आग्रह गर्ने निर्णय गरेको हो ।

बढी भीडभाड हुँदा एकबाट अर्को व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण फैलिने खतरा देखिएकाले साकेला, देवालीलगायतका चाडवाडलाई विधिकारूपमा मात्र मनाउन आग्रह गर्ने निर्णय गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए ।

“चाडवाड मनाउनेक्रममा नेपाल सरकारले तोकेको अधिकतम २५ जनाभन्दा बढीको उपस्थिति नगर्न/नगराउन आग्रह गरिएको छ”, उनले भने, “बैठकमा सहभागी विभिन्न जातीय सङ्गठनका प्रतिनिधिले पनि बढीमा २५ जनाको उपस्थितिमा आफ्नो चाडवाड मनाउने निर्णयमा सहमति जनाएका छन् ।”

धार्मिक, सामाजिक तथा सांस्कृतिक चाडवाड मनाउने क्रममा दुई व्यक्तिबीचमा अनिवार्य न्यूनतम एक मिटरको सामाजिक दूरी कायम गर्नसमेत आग्रह गरिएको जनाइएको छ । सरकारले लागू गरेको लकडाउनका कारण कतिपय हिन्दूधर्मावलम्बी समुदायले आफ्नो देवालीलाई महिना दिनपछि सारेको बताएका छन् ।

यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङस्थित लाफेहँछा सेवा समाजले बढीमा १५ जनाको उपस्थितिमा मात्र साकेला मनाउने निर्णय गरेको थियो । हरेक वर्षको पूर्णिमाको दोस्रो दिन लफ्याङमा सयौँको उपस्थितिमा साकेला मनाउने गरिएकामा यसपल्ट लकडाउनलाई मध्यनजर गर्दै बढीमा १५ जनाको उपस्थितिमा मात्र साकेला पुज्ने निर्णय गरिएको समाजका सदस्य राजेन्द्र राईले बताए ।

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको बसोबास रहेको खोटाङ जिल्लामा अहिले आ–आफ्नो जातविशेषको पितृकार्य शुरु भएको छ । किराँत समुदायको बाहुल्यता रहेको खोटाङमा साकेला उभौली महिना दिनसम्म मनाउने चलन छ ।

प्रवेश गर्न नदिन युवाको सक्रियता
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका युवा आफ्नो गाउँ प्रवेश गर्ने १४ वटा नाकामा खटिएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनको समयमा पनि आवतजावत गर्ने क्रम नरोकिएपछि त्यसलाई रोक्न प्रत्येक नाकामा चार/चार जनाका दरले बिहान ६ देखि बेलुका ६ बजेसम्म दैनिक १२ घण्टा युवा खटिएका हुन् ।

स्थानीय बासिन्दालाई समेत एउटा टोलदेखि अर्को टोल आवजावत गर्न नदिने गरी रोक लगाउन लागिपरेका युवा साबिकको नौ वटै वडाका नाकामा परिचालित भएको वडाध्यक्ष रामचन्द्र राईले बताए । “हरेक घरका युवा पालैपालो एक/एक दिन नाकामा बस्ने गरी समिति बनाएरै खटिएका छन्”, उनले भने, “नाकामा खटिने युवालाई वडा कार्यालयबाट स्वयंसेवक परिचयपत्र र मास्क उपलब्ध गराइएको छ ।”

घरमा बिहान खाना खाएर नाकामा खटिने युवा आफैँले दिउँसोको लागि भुटेको मकै, सातु तथा अन्य खाजा लिएर जाने गरेका छन् । नाकामा खटिएका युवाको टोलीले गम्भीर किसिमका बिरामी तथा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधनबाहेक पैदलयात्रुलाई समेत रोक लगाउने गरेका छन् ।

दिक्तेलबाट खार्मी प्रवेश गर्ने देउराली, पाथेकाबाट प्रवेश गर्ने देखुमेखोलाको पुल, जालपाबाट प्रवेश गर्ने लुम्जुखोला, रुपाकोटबाट प्रवेश गर्ने ढिकाडाँडा, केपिलासगढी गाउँपालिकाबाट प्रवेश गर्ने रुधालुङ र तुर्खा पुछारमा टोली खटिएको वडा सचिव चित्रकुमार सुवेदीले जानकारी दिए ।

यस्तै, एउटा टोलदेखि अर्को टोल प्रवेशमा रोक लगाउन बाँझोबारी, झिँगुचोक, रुयल, निगाँले, गुरुङगाउँ, जागित्राडाँडा, बिखर्कुलगायतका ठाउँमा समेत युवाको टोली परिचालन भएको जनाइएको छ ।

मुख्य चोक तथा बाटोमा प्रवेश निषेध लेखिएको सूचना टाँसेर परिचालित भएका युवाले गाउँमा कोरोना भाइरससम्बन्धी जनचेतना अभिवृद्धिको कामसमेत गरिरहेका छन् । प्रवेश निषेधको जानकारी नपाएर आउने व्यक्तिलाई बाटैबमा सम्झाइबुझाइ फर्काउने गरिएको नाकामा खटिएका बोहोरीबोटका युवक चिनकाजी राईले बताए ।

दिनभर नाकामा खटिने युवाले घाम र पानीबाट जोगिन आफ्नै खर्चमा पाल तथा चित्राको गोठ बनाएर बस्ने गरेका छन् । आफ्नो गाउँको सुरक्षार्थ खटिने युवालाई वडाको तर्फबाट सामान्य खाजाको व्यवस्था गर्ने तयारी गरिएको जनाइएको छ ।

छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमित भेटिएपछि खोटाङमा पनि उच्च सतर्कता अपनाइएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए ।

“उदयपुरका स्थानीय बासिन्दासमेत खोटाङ जिल्ला भित्रिनेक्रम बढ्दै गएपछि सम्पूर्ण नाका सिलबन्दी गरिएको छ”, उनले भने, “किराँत समुदायको साकेला, हिन्दुधर्मावलम्बीको देवालीलगायत चाडवाड पनि नजिकिँदै गरेकाले धार्मिक, सामाजिक, साँस्कृतिक चाडवाड मनाउँदा पनि कम उपस्थितिमा मनाउन आग्रह गरिएको छ ।”

दश स्थानीय तह रहेको खोटाङमा अहिलेसम्म ११५ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) तथा १५ व्यक्तिको नमूना (स्वाब) पिसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा गत चैतयता विभिन्न देशबाट घर फर्किएका दशवटै स्थानीय तहका ११५ व्यक्ति आरडिटी तथा १५ व्यक्तिमा पिसीआर परीक्षण गरिएको थियो । जिल्लाका १०वटै स्थानीय तहमागरी ३०४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ ।

सबै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिए पनि विदेशबाट फर्किएर क्वारेन्टाइन बस्नेको संख्या भने न्यून देखिएको छ । कम संख्यामा क्वारेन्टाइनमा राखिएका व्यक्तिले पनि विभिन्न माग राख्दा स्थानीय तहका जनप्रतिनिधि हैरानीमा परेका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएपछि क्वारेन्टाइनमा राखिएका व्यक्तिले दैनिक मासुभात, रक्सी र निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउन माग गरेपछि समस्या भएको हो ।

प्रतिक्रिया