सामाजिक संस्था मैत्री ऐन निर्माण गर्नुपर्नेमा जोडसामाजिक संस्था मैत्री ऐन निर्माण गर्नुपर्नेमा जोड

शर्मिला गुरुङ

भक्तपुर, २० चैत : सरकारले निर्माण गर्न लागेको सामाजिक सङ्घसंस्था ऐन संस्थामैत्री हुनपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मङ्गलबार गैरसरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा भक्तपुरको १६औँ वार्षिक साधारणसभा तथा नागरिक सम्मेलनका सहभागीले कानून आयोगले सरकारलाई बुझाएको सामाजिक संस्था ऐनको मस्यौदालाई थप परिमार्जन गरी संस्थामैत्री ऐनका रूपमा जारी गर्न माग गरेका हुन् ।



कार्यक्रममा सरकारले नियमन, व्यवस्थापन, समन्वय, सहकार्य र साझेदार निकायका रुपमा संस्थालाई भूमिका दिनसके ‘समृद्ध नेपाल र सुखी नेपाली’को सरकारको लक्ष्य पूरा गर्न संस्थाको भूमिका महत्वपूर्ण हुने सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले बताउनुभयो ।

उहाँले अख्तियारलाई समेत सघाउँदै भक्तपुरमा भ्रष्टाचारमुक्त जिल्ला बनाउन अभियान नै सञ्चालन गर्ने बताउँदै भन्नुभयो, “भक्तपुर जिल्लालाई सुशासन र भ्रष्टाचारमुक्त बनाउन अभियान शुरु गर्दैछौँ, यसका लागि हनुमन्ते सफाइ अभियानमा जस्तै अभियाकर्मीहरु खटाइने छ, जनताको चाप बढी हुने र आर्थिक कारोवार बढी हुने कार्यालयमा प्रत्येक दिन पाँच अभियानकर्मी नै राखेर अभियान सञ्चालन गर्दछाँै ।”

जिल्ला प्रशासन कार्यालय र प्रहरी परिसरसँग यसबारेमा छलफल भइरहेको बताउँदै उहाँले भ्रष्टाचार र आर्थिक लेनदेन गर्ने कर्मचारी र बिचौलियालाई कारवाहीको दायरामा ल्याउने उहाँको भनाइ थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष जितराम लामा, गैसस भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं), जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले देशको परिवर्तन र विकासमा गैससको महत्वपूर्ण भूमिका रहँदै आएको बताउँदै सरकारले गैससलाई गलत रूपमा हेर्न नहुने औँल्याउनुभयो ।

कार्यक्रममा यस वर्षको उत्कृष्ट गैरसरकारी संस्था पुरस्कार भक्तपुरको यातु महादेवमा सञ्चालन हुँदै आएको मानव कल्याण समाजलाई प्रदान गरिएको छ । नगद रु १० हजार र सम्मानपत्रसहितको उक्त पुरस्कार समाजका अध्यक्ष सुमित्रा चौलागाईंलाई पूर्वउद्योगमन्त्री बस्नेतले प्रदान गर्नुभयो । कार्यक्रममा रु चार लाखको उत्कृष्ट संस्था पुरस्कार अक्षयकोष स्थापनाको घोषणासमेत गरिएको छ । रासस

प्रतिक्रिया