सामाजिक सञ्जाल बन्यो चरित्र हत्या गर्ने माध्यम

admin

काठमाडौं, २६ मंसिर : करिब एक महिनाअघिको कुरा हो। अछामका २१ बर्से पुरन तिमल्सिना साइबर अपराधमा समातिए। भारतमा बस्ने उनले आफ्नै गाउँकी एक युवतीको ‘फेक’ फेसबुक अकाउन्ट खोले। युवती र उनका बुवाको फोटोमा अश्लील फोटो जोडेर म्यासेन्जरमा युवतीका आफन्तलाई पठाउन थाले। काठमाडौंमा पढ्दै गरेकी युवतीलाई उनीमाथि शंका लागेपछि प्रहरीमा उजुरी गरिन् र तिमल्सिना समातिए।

सामाजिक सञ्जाल दुरुपयोग गर्दा समातिनेमा काठमाडौंमै बस्दै आएका ३८ बर्से शिवहरि थापा पनि पर्छन्। फेसबुकमार्फत् उनको २० वर्षीया युवतीसँग चिनजान भयो। सम्बन्ध अघि बढ्दै गएपछि उनले युवतीसँग बिहेको प्रस्ताव राखे र भेट्न बोलाए। युवती संखुवासभादेखि काठमाडौं आइन्। बौद्धको होटलमा भेट भयो। सँगै बसेका केही तस्बिर मोबाइलमा खिचे। आफूभन्दा थापा १८ वर्ष जेठा भएको थाहा पाएपछि युवतीले सम्बन्ध अघि बढाउन चाहिनन्। थापा त्यसको प्रतिशोध लिन चाहन्थे। उनले युवतीको फेक फेसबुक आईडी बनाएर युवती सँगै बसेका तस्बिर पठाउन थाले। यस्तो गरेकोमा उनी अहिले कारागारमा छन्।

कपिलवस्तुका २६ बर्से अकबर अलि मियाँले अपत्यारिलो साइबर अपराध गरे। सामान्य मजदुरी गर्ने उनले आमाको नामबाट सिमकार्ड किनेर एक महिलालाई राति १२ बजे फोन गरे। महिलाले चिन्न अस्विकार गरेपछि उक्त महिलाको टाउको अश्लील फोटोमा जोडेर म्यासेजमा पठाउँदा उनी समातिए।

सामाजिक सञ्जाल दुरुपयोग गरेर समातिनेमा बर्दिया घर भएका १७ वर्षीय भैरव विष्ट पनि हुन्। छानबिनमा विष्टसँग ५ वटा फेसबुक आईडी भएको पाइयो। उनले गृहजिल्लाकी १४ वर्षीया किशोरीको नाममा फेसबुक आईडी बनाएका थिए। त्यसपछि ती किशोरीको टाउको पोर्न फोटोमा जोडेर फेसबुक प्रोफाइलमा पोस्ट गरेका थिए। उनी बालिग भएकाले उनलाई सुधारगृहमा राखिएको छ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार सम्बन्ध राम्रो रहेसम्म शारीरिक सम्बन्ध बनाउने र बिग्रिएपछि त्यही सम्बन्ध सामाजिक सञ्जालबाट सार्वजनिक गरी चरित्र हत्या गर्ने प्रवृत्ति बढेको छ। यस्ता अपराधमा प्रायः किशोरकिशोरी संलग्न भएको पाइन्छ। तर साइबर अपराधमा सबै उमेर समूहका व्यक्तिले गरेको तथ्यले औंल्याउँछ। डीएसपी बोगटी भन्छन्, ‘सम्बन्ध बिग्रिएपछि प्रतिशोध लिन पीडकले वैवाहिक सम्बन्धसमेत टुटाइदिने गरेका छन्।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया