सामुदायिक विद्यालयमा सुधार आवश्यक छः मन्त्री पोखरेल

राष्ट्रिय समाचार समिति

हेटौँडा, २८ भदौ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेता, जनप्रतिनिधि र उच्च पदस्थ सरकारी कर्मचारीले आफ्ना बालबालिकाको लागि सामुदायिक विद्यालय छनौट गरेमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुने बताउनुभएको छ ।आज हेटौँडामा आयोजित नमूना विद्यालय हस्तान्तरण कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा सरकारले गरेको ठूलो लगानीको उचित प्रतिफल ल्याउनका लागि सामुदायिक विद्यालय सुधार कार्य आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, “अब सामुदायिक विद्यालयमा साधारणभन्दा पनि प्राविधिक शिक्षाको पढाइ आवश्यक छ । यसले शिक्षालाई सीप, सीपलाई रोजगारी र रोजगारीले समृद्धि सम्भव हुन्छ ।” उहाँले हालसम्म नेपालमा ८० प्रतिशत साधारण र २० प्रतिशत मात्र प्राविधिक शिक्षा अध्यापन गराइने भएकाले अब यसलाई उल्टाउनुपर्ने समय आएको बताउँदै अबको दिनमा सामुदायिक विद्यालयले नीजि क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने खालको शैक्षिक गतिविधि अगाडी बढाउनुपर्छ भन्नुभयो ।

मन्त्री पोखरेलले नेपाल सरकारले पाँच वर्षभित्र विद्यालय भवनहरुको पुनःनिर्माण सम्पन्न गर्ने संकल्प लिएको उल्लेख गर्दै अब एक हजार ७०० विद्यालय पुनःनिर्माण हुन बाँकी रहेको र जग्गा लगायतका विवादका कारणले त्यो कार्य अड्किएको बताउनुभयो । सङ्घीय लोकतन्त्रको यथार्थ जनजनमा पु¥याउन शिक्षा नै उपयुक्त माध्यम भएको बताउँदै उहाँले अबको दिनमा हिजोको शैलीमा गराइने पठनपाठनले काम नगर्ने हुँदा पुरानो ज्ञान दिनेमात्र नभएर नयाँ ज्ञान सिक्नतर्फ शिक्षक उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पोखरेलले विगतमा शिक्षक हुन राजनीतिक दल, ट्रेड युनियनमा जोडिएको जस्तो अबको दिनमा विद्यार्थीको परीक्षाफलमा जोडिनुपर्नेमा बताउँदै शिक्षामा क्रान्तिको आवश्यकता छ र त्यो क्रान्ति सिकाइले मात्र ल्याउँछ भन्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागार्इंको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्यहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया