सिक्दै डेढ वर्ष बित्यो : उपसभामुख

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ८ असोज: सङ्घीय संसद् र प्रदेशसभाका उपसभामुखले डेढ वर्षसम्म सङ्घीयताअनुरुपका संविधान कार्यान्वयनका काम सिक्दै बितेको अनुभव सुनाउनुभएको छ । उपसभामुखको मङ्गलबार भएको भेलाका बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा सङ्घीय संसद्मा निरन्तर अभ्यास भइरहेको भए पनि प्रदेशमा विशुद्ध नयाँ अभ्यास भएको हुँदा सिक्नैमा धेरै समय खर्च भएको उपसभामुखले आफ्ना अनुभव सुनाएका हुन् ।

प्रतिनिधिसभका उपसभामुख शिवमाया तुम्बाहाम्फेले नेपालको इतिहासमा नयाँ नेपालको संविधानले परिकल्पना गरेको संघीय शासन व्यवस्थाअनुसार सङ्घ र प्रदेशमा संविधान कार्यान्वयनको अभ्यास गर्दै समय बितेको बताउनुभयो ।

“सङ्घीय संसद् र प्रदेशसभासँग सहकार्य, समन्वय र समन्यायिक तरिकाले सकरात्मक ढङ्गले भूमिका लेखिरहेको छ, साढे एक वर्षको अनुभव र सिकाइ पनि यही रह्यो”, सङ्घीय संसद्का उपसभामुख तम्बाहाम्फेले भन्नुभयो, “नेपालको इतिहासकै सङ्घीयतको नयाँ अभ्यास हो, यसमा महिलालाई उपसभामुख भएर काम गर्न अवसर मिल्यो, जुन सकारात्मक छ ।”

राष्ट्रियसभामा उपाध्यक्ष शशिकला दाहालले आफूहरु प्रदेशसभाबाटै चुनिएर आएको स्मरण गर्दै प्रदेशसभासँग समन्वय र सहकार्य गरेर नै अगाडि बढेको र समग्रको नेपालको संविधान कार्यान्वयनकै मूल भावका साथ काम गरिरहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला जोशीले जीवनमा नयाँ काम गरेर अनुभव गर्ने मौका मिलेको उल्लेख गर्दै सभामुख नभएको अवस्थामा र भएको अवस्थामा पनि सहकार्य गरेर अघि बढिरहेको अनुभव सुनाउनुभयो ।

कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्तीले सङ्घीयताको खास अभ्यास नै प्रदेशले गरेको र प्रदेशका सभामुख र उपसभामुख आफँैले व्यवस्थापनको कामसमेत गर्नुपरेको अनुभव सुनाउनुभयो । प्रदेश नम्बर २ का उपसभामुख उपमा देवले सभामुख नभएको अवस्थामा आफूले सदन चलाएको रमाइलो अनुभव रहेको र सिक्दै काम गर्दै समय बितेको बताउनुभयो ।

उपसभामुखको यसअघि पनि चन्द्रागिरिमा भेला भएको थियो । समग्रमा मङ्गलबारको भेलामा संविधान कार्यान्वयन प्रभावकारी तरिकाले गर्ने, सभामुखसँग समन्वयनमा काम गर्ने, आफ्नो र समग्र महिलाका नेतृत्व विकास गर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया