सिटिजन बैंकमा सुन ठगीकाण्ड

admin

काठमाडौं, साउन ९ :सिटिजन्स बैंक लिमिटेड नेपालगन्ज शाखामा भएको नक्कली र कम तौल सुन धितोकाण्डमा बैंकका प्रबन्धकसहित सात जनालाई जनही २५ लाख धरौटी माग गरिएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ । ठगीकाण्डको बयान र थुनछेकका लागि उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास १ नम्बर बेन्चमा न्यायाधीश बिष्णुदेव पौडेलको इजलासमा आरोपितहरूको बयानपछि उनीहरूलाई जनही २५ लाख धरौटी माग गरिएको हो ।

बंैकमा सुन धितो राखेर रकम निकाल्ने चार जना तथा बैंकका प्रबन्धक विवेक स्वाँर, सहायक प्रबन्धक शंकर जोशी, खजान्ची ज्योति सुनार, सुन धितो राख्ने ईश्वर सुनार, रमेश सुनार, दीपक विश्वकर्मा र दीपेन्द्र विश्वकर्मासँग जनही २५ लाख माग गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

करोडौं ठगी गर्ने १० जना सुनारसहित १३ जनाविरुद्ध अनुसन्धान अभियोग प्रयोजनका लागि उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा थुनछेक बहस भएको थियो । सिटिजन्स बैंक नेपालगन्ज शाखाका प्रबन्धक स्वाँर सो बैंकमा ठगीकाण्ड भएको उजुरी कर्तासमेत हुन् । उनकै उजुरीका आधारमा छानबिन सुरु गरेको प्रहरीले सहायक प्रबन्धक जोशी, बैंकका मुख्य अभियोगी क्यासियर ज्योति र अन्य सुन धितो राख्न आउने १० जनामाथि अनुसन्धान सुरु गरेको थियो ।

बैंक ठगीकाण्डमा अन्य रकम फिर्ता गरे पनि हाल बंैकलाई तिर्न बाँकी रकम ३ करोड २७ लाख रुपैयाँ ठगी भएको आरोपमा १३ जना अनुसन्धानको दायरामा रहेको प्रहरी स्रोतले बताएको छ । बैंक ठगीकाण्डको विषयमा उजुरीकर्ता स्वयंलाई नै उक्त विषयमा विपक्षी बनाएर अनुसन्धानको दायरामा ल्याइएको थियो ।

प्रतिक्रिया