सिठ्ठी फुकेर जनचेतना, बजारमा कीटनाशक औषधि

राष्ट्रिय समाचार समिति

दैलेख, १६ चैत: नारायण नगरपालिका दैलेखले सदरमुकाम दैलेख बजारको तीन किलोमिटर बजार क्षेत्रमा दमकलको सहायतामा कीटनाशक औषधि छरेको छ । कोभिड १९ फैलन नदिन र अन्य सिजनल फ्लू रोक्ने अभियानअन्तर्गत यस्तो कार्य गरिएको नगरपालिका प्रमुख रत्नबहादुर खड्काले बताउनुभयो ।


शहरी क्षेत्रमा अनावश्यक फोहोर नफाल्न र घर बाहिर ननिस्कन भन्ने जनचेतना पनि जगाउँदै सो अभियान थालिएको नगरपालिका वडा नं १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

दैलेखमा रहेको नेपाली सेना इन्द्रदल गुल्मले दमकलमार्फत सडक, सडकमा रहेको नालीलगायत स्थानमा क्लोरिन छर्किएको छ । नगरपालिकाको वडा नं. ८ मा रहेको स्वास्थ्य कार्यालयदेखि न वडा नं ४ को सोतसम्म क्लोरिन छर्कने अभियान शुरु गरिएको हो ।

जिल्लाभरका सम्भावित बिरामीको संख्या बढ्न सक्ने अवस्थामा उचित व्यवस्थापनका लागि नारायण क्याम्पसमा एक सय शय्याको क्वारेन्टाइन र सरस्वती मावि तर्ताङ्गमा अस्थायी अस्पताल निर्माण गरिसकिएको नगरपालिका प्रमुख खड्काले बताउनुभएको छ ।

नागरिकलाई घरभित्रै बस्न जिल्ला प्रहरी कार्यालयले सिठ्ठी अभियान पनि संचालन गरेको छ । अनावश्यक हिँडडुल गरेकाहरुलाई सिठ्ठी फुकेर धपाउने काम निरन्तर भइरहेको जिल्ला प्रहरी कार्यालयप्रमुख हरिबहादुर ओलीले बताउनुभयो ।

प्रतिक्रिया