सिन्धुपाल्चोकमा बस दुर्घटना: ५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

admin

काठमाडौं, २४ असोज: सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ५ जना यात्रुको ज्यान गएको छ । ४० भन्दा बढी घाइते भएका छन् । सिन्धुपाल्चोकको सिपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको हो । दुर्घटनामा ४ पुरुष र १ महिलाको ज्यान गए पनि उनीहरूको सनाखत हुन नसकेको सिन्धुपाल्चोकमा कार्यरत नेपाल प्रहरीका डीएसपी माधव काफ्लेले जानकारी दिए ।

दशैं मनाएर काठमाडौं फर्कंदै गरेका ४० भन्दा बढी यात्रु घाइते भएका छन् । डीएसपी काफ्लेले दुर्घटनाका घाइतेलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याउने काम भइरहेको बताए । ‘बसमा सवार ५० यात्रुमध्ये अधिकांश घाइते छन्,’ काफ्लेले भने, ‘घाइते सबैलाई प्रहरी, स्थानीयलगायतको सहयोगमा उद्धार गरी विभिन्न अस्पतालमा लैजाने काम भइरहेको छ ।’

दुर्घटनाग्रस्त बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ । डीएसपी काफ्लेका अनुसार बस दुर्घटनाको कारण खुलेको छैन । उनले यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया