सिन्धुपाल्चोक र बागलुङ संकटग्रस्त क्षेत्र घोषित, यस्ता छन् मन्त्रिपरिषदका अरु निर्णय

admin

काठमाडौं, असोज ७ : सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। ती दुई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुर्ननिर्माणका काम अगाडि बढाइने परराष्ट्रमन्त्री, सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए। विपद व्यवस्थापन प्राधिकरणको अगुवाईमा पुर्ननिर्माणको काम सुरु हुने उनले जानकारी दिए।

त्यस्तै सरकारले नेपाल चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल वार्ताका लागि कार्यसूची र टोली स्वीकृत गरेको छ। नेपाल र चीनको व्यापार प्रवद्र्धनका लागि बैठक फलदायी हुने ज्ञवालीले बताए। यस्तै हाइटीमा हैजाको कारण भएको ठूलो क्षतिको पुर्नस्थापनाका लागि संयुक्त राष्ट्र संघले बनाएको कोषमा ५ हजार डलर सहयोग गर्ने निर्णय पनि गरेको छ।

नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर गर्न राजदूत अन्जन शाक्यलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ। सम्झौतापछि सरकारी तवरबाट जाने नेपाली कामदारहरुले त्यहाँका नागरिक सरह सुविधा र संरक्षण प्राप्त गर्नेछन्।

यस्तै सरकारले असोज २४ का लागि तोकिएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ गतेका लागि तोक्ने निर्णय पनि गरेको छ। सरकारले नेपाल र चीन दुई देशका महत्वपूर्ण ग्रन्थहरुको अनुवाद गर्ने समझदारी पत्रमा हस्ताक्षरका लागि स्वीकृति दिने निर्णय पनि गरेको छ।

सरकारले कोरोना संक्रमितको उपचार र शव व्यवस्थापनमा संलग्नहरुको २५ लाखको निःशुल्क बिमा गर्ने निर्णय पनि गरेको छ। कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क बीमा क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

प्रतिक्रिया