सिरिया मामिलामा रुस र टर्कीले सहकार्य गर्ने सहमति

admin

मस्को, १४ पुस: सिरियामा तैनाथ अमेरिकी सैनिक फिर्ता भएपछि रुस र टर्कीले सहकार्य गर्ने बारेमा शनिबार सहमति भएको मस्कोस्थित एक उच्च कुटनीतिज्ञले बताउनुभएको छ । “अमेरिकी सैनिक फिर्ता भएपछिको नयाँ परिस्थितिका बारेमा हामीले विशेष रुपमा छलफल गरेका छौं,” रुसी विदेशमन्त्री सर्गेई लाभरोभले टर्कीका समकक्षी मेभ्लट काभुसोग्लुसँग मस्कोमा भेटवार्ता भएपछि संवाददाताहरुलाई प्रतिक्रिया दिँदै बताउनुभयो ।

“रुस र टर्कीका सैनिक प्रतिनिधिहरुबीच स्थलगत रुपमा गर्नुपर्ने समन्वयका बारेमा एक किसिमको सहमति भएको छ । सिरियाबाट सबै किसिमका आतङ्कवादी खतराहरु निमिट्यान्न पार्न दुबै मुलुकबीच समझदारी पनि भएको छ,” लाभरोभले बताउनुभयो । टर्कीका विदेशमन्त्री काभुसोग्लुले पनि दुबै मुलुकले सिरियाका मामिलामा सहमति जनाएको पुष्टी गर्नुभयो । उहाँले सिरियाली शरणार्थीहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउने बारेमा पनि छलफल भएको जानकारी दिनुभयो ।

“हामी रसिया र इरानसँग मिलेर सिरियामा राजनीतिक स्थायित्व ल्याउन तत्पर छौं ।” उहाँले भन्नुभयो । लाभरोभ र काभुसोग्लुका अलावा वार्तामा रुस र टर्कीका रक्षा मन्त्रीहरु क्रमशः सर्गेई शोइगु र हुलुसी अकार पनि सहभागी हुनुहुन्थ्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता सिरियामा तैनाथ दुई हजार अमेरिकी सैनिक फिर्ता लैजाने घोषणा गर्नुभएको थियो । उहाँले चरमपन्थी इस्लामिक स्टेट समूह परास्त भएकाले अमेरिकी सैनिक फिर्ता गर्नुपरेको जनाउनुभएको थियो ।

चरमपन्थी इस्लामिक स्टेटले खाडी क्षेत्रको अधिकांश भूभागमा आफ्नो नियन्त्रण गुमाइसकेको छ । तैपनि, हजारौं जिहादीहरु अझै पनि युद्धग्रस्त मुलुक सिरियामा रहेको विश्वास गरिन्छ । शुक्रबार, रसियाले अर्को वर्षको शुरुमै सिरिया द्वन्द्वका बारेमा टर्की र इरान सम्मिलित तीन देशीय शिखर सम्मेलन गर्ने प्रस्ताव अघि सारेको छ ।
-रासस/एएफपी

प्रतिक्रिया