सीको भ्रमण: यसरी गरिदै छ तयारी

admin

काठमाडौं, असोज १८ : यसै महिनाको अन्तिम साता हुन गइरहेको चीनका राष्ट्रपति सी जिनपिङको औपचारिक नेपाल भ्रमणको तयारी बढाइएको छ। सरकारको विशिष्ट निकाय, गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, प्रशासनिक निकाय, विकासका साझेदारलगायत सबै निकायमा यतिबेला राष्ट्रपति सी भ्रमणको तयारीको चटारो छ ।

नेपालीको महान् पर्व बडादशैंको अवधि भए पनि यस पर्वको अघि र पछि तयारी अवस्थामा बस्न कर्मचारीलाई निर्देशन दिइएको छ। गोरखापत्र लेख्छ : “चीनका राष्ट्रपतिको आसन्न भ्रमणको सरकारले तीव्र तयारी गरिरहेको छ,” प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने, “सबै तहबाट उच्चस्तरीय भ्रमणलाई उच्च बनाउने प्रयास भइरहेको छ ।” उच्चस्तरीय भ्रमणका लागि हुने सहमतिका कार्यसूचीबारे भने थप छलफल चलिरहेको उनले जानकारी दिए। द्विपक्षीय सम्बन्धलाई मर्यादित, प्रभावकारी र नेपालका लागि फलदायी बनाउन परराष्ट्र मन्त्रालयले छुट्टै तयारी गरिरहेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना मन्त्रालयका सम्बन्धित महाशाखा र पदाधिकारीलाई भ्रमण सफल बनाउन चनाखो रहेर काम गर्न निर्देशन दिएको जनाएको छ । दुई देशको सम्बन्ध मात्र हैन, विश्वकै आँखा परेको चीनका राष्ट्रपति सीलाई नेपालमा स्वागत गर्न कुनै कसर बाँकी नराख्ने गरी तयारी गर्नुपर्नेमा मन्त्री ज्ञवालीको जोड रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको विशेष निकायका रूपमा शिष्टाचार महाशाखा पर्छ ।

राष्ट्रपतिजस्तो उच्चस्तरीय भ्रमणलाई सम्मानजनक र नेपालको छवि उँचो राख्ने किसिमले पूरा गर्न मन्त्रालयमा हरेक दिनजसो तयारीका लागि बैठक चलिरहेको छ । गृह मन्त्रालय मातहतका सबै सुरक्षा निकायले पनि उच्चस्तरीय भ्रमणका लागि आफ्नो तयारी थालिसकेको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले मिति तय भइनसकेको अवस्थामा पनि आन्तरिक तयारी भइरहेको बताए। “नेपाल सरकार विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० ले निर्देशन गरे अनुसारको उच्चस्तरीय सुरक्षा व्यवस्था गरिने छ,” उनले भने “जुन हरेक उच्चस्तरीय भ्रमणका क्रममा गरिनु आवश्यक हुन्छ ।”

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तिनै निकायको शक्ति उक्त भ्रमणको सुरक्षामा केन्द्रित हुने जानकारी उनले दिए। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले गृह मन्त्रालयको आदेश र कार्यविधिले तोकेको जिम्मेवारीअनुसार सुरक्षाको तयारी भइरहेको छ । “हामी २४ घन्टा नै सुरक्षाका लागि तम्तयार छौँ,” उहाँले भने, “जहाँ जसरी सरकारले तय गर्छ, त्यहीअनुसारको सुरक्षा व्यवस्था गर्नेछौँ ।” नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालले प्रहरीको तर्फबाट राम्रो तयारी भइरहेको जानकारी दिनुभयो । संयुक्त सुरक्षा व्यवस्थामा काम गर्ने भएकाले सबैसँग मिलेर सुरक्षा योजना बनाएर काम गरिने छ,” उनले भने ।

प्रतिक्रिया