सीपी गजुरेलको आरोप : बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’

admin

काठमाडौं, ११ फागुन । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्शा जारी गर्नुपर्ने बताएका छन् । उनले भने,‘नेपालले यी भूभाग समेटेर आफ्नो नक्शा जारी गरेपछि, विवाद रैछ भनेर अन्तर्राष्ट्रियस्तरमा सन्देश जान्छ ।

अर्को कुरा, भारतसँगको सीमा विवादबारे दुई देशबीच प्रधानमन्त्रीस्तरमा वार्ता हुनुपर्छ । अब यो विषय तुरुन्तै टुँग्याउँनुपर्छ ।’आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले ५८ वर्षदेखि कालापानी क्षेत्रमा बसेको भारतीय सेनालाई पनि तत्काल हटाउनुपर्ने बताए । उनले भने,‘तर, हाम्रो प्रधानमन्त्रीलाई यो कुराको कुनै चासो छैन् । रक्षामन्त्री दार्चुला जानुभयो, सेनाको हेलिकप्टर लिएर जानुभयो, हामीले पनि खुशी नै मानेका थियौं । तर, उहाँहरु कालापानी क्षेत्रको मौसम खराब भएको भनेर त्यहाँ नपुगी फर्किनुभयो ।

मन्त्रीजी आफ्नो भूभागमा जान किन डराउनुभयो । यो भनेको स्थिति गम्भिर छ।’क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारका प्रवक्ता नै भ्रष्टाचार काण्डमा मुछिएको र उनलाई राजीनामा मात्रै गराउन लगाउनु पर्याप्त नभएको जिकिर गरे । उनले भने,‘यदि स्विस कम्पनीसँग अन्तरविरोध नभएको भए त ? ठूलो मात्रामा भ्रष्टाचार हुन लागेको रैछ नि, २६ अर्बमा हुने कुरा लागत बढाएर ४० अर्ब पुर्याईएको रहेछ, यत्रो ठूलो रकम खाने योजना रहेछ ।’ गजुरेलले मन्त्री बाँस्कोटाको ७ वटा योजनामा एक खर्ब खाने योजना रहेको कुरा पनि मिडियामा आएको सुनाए । उनले थपे,‘अनि हामीले देश विकास होला भनेर कसरी कल्पना गर्ने ?’

उनले वर्तमान सरकार नै भ्रष्टाचारमा लिप्त रहेको पनि आरोप लगाए । ‘सरकारले समृद्ध नेपाल, सुखी नेपाली’ को नारा दिएर बकवास गरिरहेको पनि उनको टिप्पणी छ । अहिले सामान्य नागरिकले आफ्ना छोराछोरी पढाउन सक्ने अवस्था नभएको र उपचार गराउन सक्ने अवस्थापनि नभएको चित्रण गर्दै गजुरेलले मुलुकको अवस्था साह«ै चिन्ताजनक रहेको सुनाए । उनले भने,‘सरकारका मन्त्री नै यसरी भ्रष्टाचारमा लिप्त भएपछि मुलुकको यो अवस्था हुनु त सामान्य नै भयो नि ।’

उनले गोकुल प्रसाद बाँस्कोटाको कमिशनको अडियो प्रकरणबारे गम्भिर छानबिन हुनुपर्ने बताउँदै यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिनुपर्ने माग गरे । उनले भने,‘प्रधानमन्त्रीको जानकारीबिना यो सम्भव छैन् ।’ गजुरेलले उक्त अडियो दुई महिना पहिले नै प्रधानमन्त्रीकहाँ पुगेको कुरा आएको सुनाउँदै किन त्यो प्रकरण बाहिर ल्याउनुभएन ? भन्दै कडा प्रश्न गरे ।

उनले भने,‘उहाँले यत्रो दिन किन गुपचुप राख्नुभयो ? यसले पनि के देखाउँछ भने यो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ, अहिले उहाँले गोकुल बाँस्कोटा प्रकरणमा छानबिनको सवालमा अर्कै टिप्पणी गर्नुभएको छ । अख्तियारले सत्यतथ्य छानबिन गर्ने कुरामा विश्वास छैन्, अख्तियार त सरकारले जे भन्यो त्यही गर्छ ।’

उनले यो प्रकरणमा अख्तियारलाई छानबिन गर्न दिएर कतै बाँस्कोटालाई जोगाउन खोज्नुभएको त छैन् ? भनेर पनि आशंका व्यक्त गरे । ‘अडियो आएपछि उहाँले किन केही गर्नुभएन ? २ महिनासम्म के हेरेर बस्नुभयो ? उल्टै उहाँले यो अडियो लुकाउने चेष्टा गर्नुभयो, अब स्थिति धेरै नै गम्भिर छ।’–उनले थपे ।

उनले वर्तमान सरकार अब दुई तिहाईको बलमा टिक्ने अवस्था नभएको पनि चित्रण गरे । उनले भने,‘हामी त सरकारको तमाशा हेरिरहेका छौं । यो व्यवस्था र संविधानमा नै खोट छ, पछिल्ला विभिन्न काण्डले त झनै व्यवस्था र संविधानमाथि प्रश्न खडा भएको छ । यो व्यवस्था र संविधान नै नेपाली जनताको हितमा छैन् । यो परिवर्तन हुनुपर्छ ।’

उनले यति प्रकरण पनि नेपालको भ्रष्टाचारको नाँगो रुप भएको बताए । उनले भने,‘गोकर्ण रिसोर्टको बारेमा यतिभन्दा बढि तिर्छु भन्ने आउँदा आउँदै सरकारले किन यतिलाई दियो ? यतिलाई यति धेरै संरक्षण किन ? यसमा कि त प्रधानमन्त्रीको सेयर छ ? कि त ठूलो कमिशनको खेल भएको छ ।’ नेपालमा पछिल्लो समय भएका चरम भ्रष्टाचारमा प्रधानमन्त्रीको नै संलग्नता रहेको गजुरेलले गम्भिर आरोप लगाए । उनले भने,‘सबै ठूला–ठूला भ्रष्टाचारमा प्रधानमन्त्रीको संलग्नता छ।’

गजुरेलले नेपालले अमेरिकी सहयोग एमसीसी लिनेबित्तिकै असंलग्न आन्दोलनबाट बाहिरिने खतरा औंल्याए । उनले भने,‘हामीले अमेरिकी सहयोग लिनेबित्तिकै अमेरिकी राष्ट्र नेपाल भित्रिन्छ । हाम्रो भूमी नेपाल, चीन र अमेरिकाको त्रिदेशीय रणनीति बन्छ । हाम्रो देश अमेरिका र चीनको क्रिडास्थल बन्छ ।’

उनले मुलुकमा यत्रो भ्रष्टाचार र काण्डहरु घटिरहेको अवस्था प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चाहीँ किन एमसीसी संसदबाट पारित गराउन हतारो भएको भन्दै कडा प्रश्न गरे । उनले भने,‘देउवाजीलार्य भ्रष्टाचारको कुनै चिन्ता छैन्, खाली एमसीसी पारित गर्नुपर्छ मात्रै भन्नुहुन्छ ।’ उनकाअनुसार एमसीसी जस्ताको त्यस्तै पारित हुने स्थिति भने छैन् । उनले भने,‘यो जस्ताको त्यस्तै पारित हुने अवस्थापनि छैन् । र, अब यसको संशोधनको पनि कुनै गुञ्जायस छैन् ।’

गजुरेलले एमसीसी फिर्ता नलगे आफूहरु यसको विरोधमा उत्रिएका सबै शक्तिहरु सडकमा आउने पनि चेतावनी दिए । उनले भने,‘हामी संसदलाई घेर्छौं । अन्तिममा नेपाल बन्द गर्छौं । हुन त नेकपाभित्र यो विषयमा मतभेद छ । विवाद छ । यो स्वतः रद्द हुने दिशामा छ ।’ एमसीसी खारेज नभएसम्म आफूहरुको संघर्ष र आन्दोलन जारी रहनेपनि उनले जानकारी दिए ।

प्रतिक्रिया