सीमाक्षेत्रमा फेरि भारतको हस्तक्षेप

admin

दार्चुला, ६ फागुन : भारतीय पक्षले दार्चुलाको व्याँस गाउँपालिकाको सीमावर्ती नेपाली भूमिमा फेरि हस्तक्षेप गरेको छ। भारतीय पक्षले महाकाली नदीमा एकतर्फी काठेपुल राख्नुका साथै नेपाली भूमिमै आएर डोजर प्रयोग गरी सयौं मिटर सडक खनेको छ। भारतीय पक्षले व्यास–२ को दोपखे क्षेत्रमा सीमानदी महाकालीमा काठेपुल निर्माणका साथै नेपाली भूमिको प्रयोग र प्राकृतिक साधनको दोहन गरिरहेको छ। नेपाली जंगलको प्रयोगदेखि लिएर नेपाली भूभागमै सुरक्षा गस्तीको काम भारतीय सुरक्षा बलले गरिरहेको छ।

भारतमा सडक निर्माणको बहानामा नेपाली भूमिको दोहन तथा सडकमा प्रयोग गरिएका विस्फोटक पदार्थका कारण नेपालतर्फ गम्भीर क्षति पुगेको छ। भारतले व्यास गाउँपालिका–१ र २ को सीमावर्ती क्षेत्रमा करिब डेढ सय मिटर तथा त्यसकै अढाइ सय मिटर परको दूरीबाट करिब तीन सय मिटर सडक बनाएको पाइएको छ। भारतले एकतर्फी रुपमा सीमा क्षेत्रमा निर्माण गरिरहेको सडकका कारण महाकाली नदीको बहाव थुनिने, नदी क्षेत्र साँघुरिनुका साथै नेपालतर्फको घोडेटो बाटोमा समेत क्षति पुगेको छ। भारतीय पक्षले २०७४ सालमा पनि नेपाललाई जानकारी नदिई अन्तर्राष्ट्रिय सीमानदी महाकालीमा काठेपुल राखेको र नेपाली भूमिमै आएर डोजर ओसारपसार गर्न ठाउँ–ठाउँमा सडक खनेको थियो। यसपटक पनि सोही कार्य दोहो¥याएको छ तर यसबारे नेपाली पक्षलाई खासै खबर छैन।

यसैबीच दार्चुला भ्रमणमा आएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार बिहान कालापानी क्षेत्र आसपास हवाई निरीक्षण गरेका छन्। उनी कालापानी क्षेत्र वरैबाट फर्किए। बाक्लो हिउँका कारण हेलिकोप्टर ल्यान्ड गर्न नसकेपछि उनले व्यास क्षेत्रको पनि हवाई निरीक्षणमात्रै गर्न भ्याए। सीमाक्षेत्र निरीक्षणपछि सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सीमाक्षेत्रमा सुरक्षा पोस्ट थप्दै जाने बताए।व्यासमा सशस्त्र प्रहरी राख्ने निर्णय भइसकेको जानकारी दिँदै उनले भने, ‘त्यस क्षेत्रमा बाह्रैमास सुरक्षाकर्मीको उपस्थिति रहनेछ। भारतसँग सीमाको विषयमा सरकारले कुराकानी गर्छ। सुगौली सन्धिपछि नेपाल सरकारले भारतलाई डिप्लोमेटिक नोट लेखेको यो पहिलो पटक हो। हामी भारतसँग सीमाका विषयमा आँखा जुधाएरै छलफल गर्छौं।’

उनले सीमा विवादका विषयमा भारतसँग दुईवटा ‘अस्त्र’ लिएर छलफल हुने बताए। ‘हामीसँग नेपालका राजनीतिक दलहरुको साझा प्रतिबद्धता पहिलो अस्त्र हो’, उनले भने, ‘दोस्रो शस्त्रका रुपमा हामीसँग ऐतिहासिक तथ्य, प्रमाणसहितका दस्तावेज छन्।’ उनले व्याससम्म सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘छिट्टै नेपाली सेनामार्फत सडक निर्माण अघि बढ्छ’, उनले भने। सीमाक्षेत्र निरीक्षणमा उपप्रधानमन्त्री पोखरेलसँगै प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेश सभा उपसभामुख निर्मला बडाल जोशी, प्रदेशसभा सदस्यद्वय मानबहादुर धामी र गेल्बु सिंह बोहरालगायत सहभागी थिए।

दार्चुला महोत्सव उद्घाटन गर्न आइतबार सदरमुकाम खलंगा पुगेका पोखरेल सोमबार बिहानै नेपाली सेनाको हेलिकोप्टरमा सीमा क्षेत्र निरीक्षण गर्न निस्केका थिए। उनी चढेको हेलिकोप्टर कालापानीवरको छाङ्रुमाथिको आकाशसम्म पुगेको थियो। छाङ्रुबाट कालापानीको दूरी करिब १७ किलोमिटर छ। कालापानी क्षेत्रमा लामो समयदेखि भारतीय सेना बस्दै आएको छ। नेपालीले आफ्नै भूभाग कालापानीमा पाइला टेक्नसमेत पाउँदैनन्। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया