सीमा नाकामा कडाइ गरिएको छ, अहिले नै लकडाउन गर्नुपर्ने अवस्था छैन : प्रवक्ता डा. गौतम

admin

काठमाडौं, २१ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम बढेकोले सबैले आवश्यक सतर्कता र सचेतना अपनाउनुपर्नेमा जोड दिएका छन् ।

बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा कुरा गर्दै उनले अहिले नै लकडाउन लगाउनुपर्ने अवस्था नभएको जिकिर गरेका छन् । उनले भनेका छन्,‘भीडभाड कायमै छ ।

त्यही भएर यो भीडभाड हुन नदिने कुरामा ध्यान दिनुपर्छ । सामाजिक दुरी कायम हुनुपर्छ भनेर हामीले स्वास्थ्य मन्त्रालयलाई भनेका छौँ ।’ प्रस्तुत छ प्रवक्ता डा. गौतमसँगको कुराकानीको सम्पादित अंश

हिजो तपाईहरूले विज्ञहरूसँग छलफल गर्नुभयो । लकडाउन आजको आवश्यकता हो ? कति दिन लकडाउनगर्ने ? काठमाडौंमा लकडाउन हुन्छ कि हुँदैन ?

अहिले वीरगञ्ज, मोरङमा जुन केशहरू भएको छ, त्यहाँतिर लकडाउन भएको छ । हामीले हाम्रो सुझाव दिएका छौँ । हाम्रो सुझाव भनेको अहिले जनस्वास्थ्य मापदण्ड पूरा गरिएको छैन, उपत्यकामा अलि अनियन्त्रित तरिकाले मान्छेहरू आइरहेका छन् ।

भीडभाड कायमै छ । त्यही भएर यो भीडभाड हुन नदिने कुरामा ध्यान दिनुपर्छ । सामाजिक दुरी कायम हुनुपर्छ भनेर हामीले स्वास्थ्य मन्त्रालयलाई भनेका छौँ ।

तर पनि जनताले मानेका छैनन् । सामाजिक दुरी अपनाईएको छैन । मास्क लगाइएको छैन । लकडाउनको विकल्प के हो ?

सबैले मानेका छैनन् भनेर सोच्न मिल्दैन । केहीले मान्नुभएको छ, केहीले मान्नुभएको छैन । यसलाई संक्रमण रोग ऐनअनुसार व्यवहारमा उतार्नुपर्छ ।

हिजो विज्ञहरूले भनेका छन् । लकडाउन कडाइ गर्नुपर्छ । १५ दिन लगाउनुपर्छ, कफ्र्यु लगाउनुपर्छ, संकटकाल घोषणा गर्नुपर्छ अरे ?

सबै विज्ञले यो भन्नुभएको छैन । केही विज्ञले लकडाउन गर्नुपर्छ भनेका छन् । केही विज्ञहरूले लकडाउन होइन लकडाउनका अरू विकल्पहरू लिनुपर्छ भनेर भनेका छन् । त्यही भएर सबै मान्छेले लकडाउन नै गर्नुपर्छ भनेर भनेका छैनन् ।

विज्ञहरूको सुझाव कडा लकडाउन गर्नुहोस्, कफ्र्यु लगाउनुहोस् भन्ने छ अरे नि ? त्यो सही हो कि होइन ?

त्यो पनि अवस्था आएअनुसार गर्नुपर्छ । अहिले नै लकडाउन लगाउनुपर्ने त्यस्तो अवस्था छैन ।

बारा जिल्लामा निषेधाज्ञा छ, कतै जिल्लाभर, कतै वडामा मात्रै निषेधाज्ञा जारी तपाईहरू जानुभएको छ । कोरोना हरेक व्यक्तिमा प्रवेश गरिसक्यो, पुलिसमा, नेपाली सेनामा, अख्तियारमा, कर्मचारीमा, स्वास्थ्यकर्मीमा । अब के गर्ने ?

मान्छेले विधि प्रयोग नगर्नाले, सामाजिक दुरी कायम नगर्नाले, मास्क नलगाउनाले, हात राम्रोसँग नधुनाले यो समस्या बढेको हो । सायद अब सबैले थाहा पाइसक्नुभयो होला ।

थाहा पाइसक्नुभयो होला तर व्यवहारमा उतार्नुपर्छ नि । तपाईले त पूरा जनतालाई बताउनुपर्छ ?

विधि पूरा गरिएन भने यो रोग अगाडि बढ्छ भनेर हामीले भनेका थियौँ । नेपालमा टेस्टिङ हुने एउटा पनि विधि थिएन । आर.डि.टि र पि.सि.आर नहुने अवस्था थियो । त्यसमा हामीले अहिले ८-१० हजार टेस्ट गर्ने विधि बनाएर राखेका छौँ ।

त्यति गरेर यो तयारी गरेर हामीले लकडाउन गर्‍यौंँ तर नियन्त्रण नै गर्न नसक्ने भयो भने हामीले त्यसका लागि विधि व्यवस्थापन गरेका छौँ । त्यसैले हामीले त्यही किसिमले रणनीति बनाउँदै जानुपर्छ ।

जनता र सरकार सबै मिलेर यो काम गर्नुपर्छ । जनताले मात्र पनि गर्न सक्नुहुन्न र सरकारले मात्र गर्न सक्दैन । सबै मिलेर काम गरेको खण्डमा नियन्त्रण हुन्छ ।

हिजो प्रधानमन्त्रीले विज्ञसँग सुझाव लिइसकेपछिको अवस्था बारे बताउनुहोस् । अब कसरी जान्छ सरकार ?

सरकारले कसरी काम गर्छ भनेर म सबै भन्न सक्दिनँ । हाम्रो सुझाव पक्कै पनि सम्बन्धित निकायमा छलफल हुन्छ । अब प्रधानमन्त्री ज्युले नै यो कुरा सुन्नुभएको छ ।

उहाँले पनि आफ्ना कुराहरू राख्नुभएको छ । अब सरकारले योजना बनाउँछ । योजना अनुसार नै स्वास्थ्य क्रियाकलापहरू अगाडि बढ्न सकिन्छ भन्ने हाम्रो ठम्याई हो ।

अस्पताल भरिए संक्रमितलाई घरमै राख्ने निर्णय भएको हो ?

अस्पताल भरिएर होइन कि हामीले होम आइसोलेसनको व्यवस्था पहिल्यै गरेका थियौँ । हिजो गरेको होइन यो । होम आइसोलेसन भनेर यो मान्छेलाई पोजिटिभ छ, यो मान्छेलाई अरू लक्षणहरू केही पनि छैन, त्यस्ता संक्रमितहरूलाई यदि घरमै छुट्टै बस्न सक्छ, दुरी कायम गर्न सक्छ, व्यवस्थापन गर्न मिल्छ भने होम आइसोलेसन आज होइन हिजो पहिल्यैदेखि नै गरिसकेको छ ।

अहिलेको अवस्थामा धेरै ठाउँमा सामग्रीहरू अभाव छ । आइ।सी।युको अभाव छ । के गर्दै हुनुहुन्छ तपाईहरू ?

अहिले नै सबै आइ.सी.यु, वार्डको अभाव भईसक्यो भनेर त म भन्दिनँ । तर हामीले यसलाई नियन्त्रण गर्न सकेनौँ भने अभाव पनि हुन सक्छ ।

भोली हजारौँ, लाखौ मान्छेहरू संक्रमित भए, अस्पताल चाहियो भने त्यस्तो बेलामा आज होइन हामीले ५/६ महिना अघिदेखि नै चेतावनी दिएका छौँ ।

हाम्रा दाजुभाइ, दिदीबहिनीहरूले यसो गरेमा नियन्त्रण हुने रहेछ, अस्पताल नगए पनि हुँदो रहेछ, घरमा बसेर पनि होम आइसोलेसनमा बस्न सकिँदो रहेछ भन्ने थाहा पाउनुभयो भने यो समस्या हुँदैन । प्रदेश नम्बर १ र २ को कुरा गर्न चाहन्छु । आइ.सी.यु भरिएर संक्रमितले भर्ना नै गर्न सकेनन् ।

वीरगञ्जमा केशहरू बढिरहेको भएर हामीले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. जितेन्द्र रमण सिंहको नेतृत्वमा वीरगञ्जमा गएर त्यहाँ अस्पतालहरूको व्यवस्थापन गरेर स्थानीय तह, केन्द्रिय सरकार, जिल्ला प्रशासन, जिल्ला अस्पताल सबै मिलेर, बसेर कुरा पनि गरेर फर्किनुभएको छ ।

अरू ठाउँहरूमा पनि हामीले व्यवस्थापन गरिरहेका छौँ । कतिपय ठाउँमा हामीले लक्षण नभएकाहरूलाई पनि अस्पतालमा राखेका थियौँ । यदि हामीले होम आइसोलेसन राख्यौँ भने मापदण्ड पूरा गर्न सक्ने एरिया हुन्छ भने होम आइसोलेसनमा राख्ने भनेर हामीले व्यवस्थापन गरिरहेका छौँ ।

भेन्टिलेटर छ त जताततै, विरामीहरूको लागि ?

सबै मान्छेलाई भेन्टिलेटर चाहिने होइन । धेरै जसो मान्छेलाई सामान्य उपचार भए पनि हुन्छ । आइ.सी.यु पनि सबैलाई चाहिँदैन । साह्रै थोरै मान्छेलाई मात्र भेन्टिलेटर चाहिने हो । हामीले भेन्टिलेटरको व्यवस्था देशमा गरिरहेका छौँ । अहिलेको कोभिड-१९ को अवस्थामा हामीलाई चाहिने भेन्टिलेटरको हामीले व्यवस्थापन गरेका छौँ ।

सीमा नाका बन्द गर्ने तपाईको निर्णय कार्यान्वयन भएन । मान्छेहरू आइरहेका छन्, गइरहेका छन् ?

धेरै जसो सीमा नाकामा कडाइ गरिएको छ । हामीले स्वास्थ्य मन्त्रालयको तर्फबाट संख्या पनि अलिकति कम गर्ने, सीमा नाकाबाट आएका मान्छेहरूलाई १४ क्वारेन्टाइनमा राखेर, जाँच गरेर मात्रै पठाउनुपर्छ भनेर हामीले भनेका छौँ । यसमा हामी संवेदनशील छौँ । हामी यसको व्यवस्थापन गर्छौँ ।

प्रतिक्रिया