सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्ने बेला भएको छैन : प्रचण्ड

मनिषा थापा

काठमाण्डौ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल भार सीमा विवादलाई अन्तर्राष्ट्रियकरण अहिले नै गर्ने बेला भइनसकेको बताएका छन्। सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यक्ष प्रचण्डले अहिले तत्काल दुई देशबीच उच्चस्तरीय कूटनीतिक पहल मार्फत नै सीमा विवाद हल गरेर अघि बढ्नु पर्ने बताएका हुन्।


सीमा विवादलाई अहिले नै अन्तर्राष्ट्रियकरण गर्नु पर्ने समय आइनसकेको र हतार गरे त्यसले नेपाललाई नै फाइदा नगर्ने उनको भनाई छ। ‘मुलुकको सार्वभौम अधिकार कायम गर्न नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नु पर्दछ’, अध्यक्ष प्रचण्डले भन्नुभयो,‘यस विषयलाई तत्काल अन्तराष्ट्रियकरण भने गर्नु हुँदैन, त्यसले नेपाललाई फाइदा गर्दैन ।’

अध्यक्ष प्रचण्डले लिम्पियाधुरा महाकाली नदीको मुहान भएको र यसको पूर्वको सबै भूभाग नेपालको भएको तथ्य औंल्याउँदै त्यसैको आधारमा नेपाल सरकारले भारत सरकारसँग संवाद गर्नुपर्ने स्पष्ट पारे ।

बैठकमा अध्यक्ष प्रचण्डले लिम्पियाधुरामा नेपाली भूमि मिचिएको र समस्या समाधानका लागि आफूले प्रधानमन्त्री हुँदा चीन र भारत दुवै देशसँग कुरा गरेको पनि बताए ।

प्रतिक्रिया