सुकुटे बस दुर्घटनाः सात जनाको सामूहिक दाहसंस्कार

राष्ट्रिय समाचार समिति

मेलम्ची, १९ कात्तिक: अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये सात जनाको आज सामूहिकरुपमा दाहसंस्कार गरिएको छ । उनीहरुको बाह्रबिसेस्थित भोटेकोशी नदीमा दाहसंस्कार गरिएको हो ।

दोलखाको शैलुङ गाउँपालिका–५ काटाकुटीका पाँच, शैलुङ माइत भएकी त्रिपुरासुन्दरी गाउँपालिकाकी एक महिला तथा उनको छोराको यहाँ सामूहिकरुपमा दाहसंस्कार गरिएको हो । शैलुङ गाउँपालिका–५ का रिकेश खडका, रत्नकुमारी राउत, उनका छोरा किरण, कविता राउत, रञ्जिता केसी, चमेली श्रेष्ठ र उनकी छोरी सायरानीको श्रेष्ठको सामूहिकरुपमा दाहसंस्कार गरिएको सो गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा मृत्यु भएका केही यात्रुको भने आफन्त नआएका कारण दाहसंस्कार हुन नसकेको उहाँले बताउनुभयो । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नंको बस सुनकोशी नदीमा खसेको हो ।

प्रतिक्रिया