सुत्केरीलाई ‘रातो भाले’

राष्ट्रिय समाचार समिति

काठमाडौं, असोज १७: २०६८ सालमा दुर्घटनामा परेर आमाले संसार छाड्दा उनलाई ठूलो शोक पर्‍यो । त्यसैको असरले उनी गम्भीर डिप्रेसनको सिकार भइन्, औषधि खान थालिन् । निद्रा लाग्ने औषधि खान थालेको पनि त्यतिबेलै हो । बिमारकै कारण उनको स्वभावमा बारम्बार अदलबदल भइरह्यो ।कहिले कसैसँग बोलिनन्, कहिले सबैसँग झगडा गरिन् ।

घरमा धेरै सामान फुटे, संसद् सचिवालयका सहकर्मी रुष्ट हुँदै गए, आफन्त र नातेदार टाढिँदै गए । गहिरो प्रेममा परेर बिहे गरेका श्रीमान्को माया पनि उनी डिप्रेसनमा गएपछि बिस्तारै तैरिँदै तैरिँदै किनारा लाग्यो । ‘म त एक्ली छु, बाँच्नै मन लाग्दैन, मर्छु भनेर दुईपटक कोसिस गरें, मरिनँ,’ रोशनी शाहीले यसो भनिरहँदा अनुहार भावशून्य थियो ।

बुधबार साँझ साढे ७ बजेतिर म उनको कोठामा छिर्दा नीलो सलले टाउको बाँधेर सोफामा सुतिरहेकी थिइन् । मलाई देख्नेबित्तिकै हत्तपत्त उठेर हात जोड्न तम्सिएकी उनका हात थरथराइरहे । सोधें, ‘सञ्चो छैन ?’ उनले ‘हो’ भनेर टाउको हल्लाइन् । मलाई रोशनीसँगै कोठामा छाडेर उनका श्रीमान् चित्रजंग शाही बाहिर निस्किए । मलाई रोशनीबाट कुनै सनसनी खोज खुलासा गराउनु थिएन, न ‘मिडियामा किन बोली फेरिरह्यौ ?’ भनेर र्‍याखर्‍याख्ती पार्नु थियो । धेरै प्रमाणले उनी पीडित हुन् भन्ने आधार तयार गरिसकेको थियो । त्यही आधारमा उनीसँग कुराको सुरुवात मैले आइतबार साँझकै प्रसंगबाट गरें ।

सोधें, ‘के भएको थियो त्यो रात ?’ उनको भारी मन तौलिएर मात्रै कुरा बाहिर निकाल्न अभ्यस्त भइसकेको रहेछ । भनिन्, ‘मैले धेरै औषधि खाएँ, औषधिसँगै भोड्का पनि खाएँ, के गरिरहेकी थिएँ, म आफैंलाई थाहा छैन ।’ उनले त्यो रात आफू घरमा एक्लै भएको जिकिर बारम्बार गरिरहिन् । ‘तर सीसीटीभी फुटेजले महराजी यहीं आएको देखाएको छ,’ मेरो यो कुरा सुनेपछि रोशनी एकछिन झस्किइन्, टोलाइन् र केहीबेरपछि भनिन्, ‘हो र ?’

कोठामा फेरि एकछिन सन्नाटा छायो । उनले सन्नाटा चिर्दै भनिन्, ‘तर उहाँले मलाई बलात्कार गर्नुभएको हैन ।’ रोशनीको पहिलो अन्तर्वार्ता सार्वजनिक भइसकेपछिको खोजबिनले त्यस दिन कृष्णबहादुर महरा उनको घरमा गएको पुष्टि भइसकेको छ । रोशनीको शरीरका चोटहरूले उनी कुटिएको प्रमाण दिएकै छन् ।

सोमबार साँझ मसँगै भएको पहिलो कुराकानीमा उनले ‘महराले आफूलाई हातपात’ गरेको बताएकी थिइन् । मंगलबार बिहान प्रहरीको सम्पर्कमा पुगेकी रोशनी त्यसपछि एकाएक हराइन्, मोबाइल ‘अफ’ गरिन्, उनको नामबाट ‘अपडेट’ हुँदै आएको फेसबुक ‘डिएक्टिभेट’ भयो । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया