सुनसरीमा सेना परिचालन

admin

काठमाडौं, २ जेठ : सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी समेत बन्द गर्ने निर्णय गरेसँगै शनिबारदेखि सेना परिचालन गरिएको हो ।

कोरोनाको भयावह स्थिति रहेकाले सुनसरीको इटहरी, धरान र इनरुवामा सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

‘हामीले सुरक्षाका लागि मात्रै नभई महामारी नियन्त्रणका लागि सेना परिचालन गरेका हौँ,’ उनले भने, ‘कोभिड विपद्को रुपमा आइपरेको छ, विपद्को घडीमा सेनाको आवश्यकता परेर परिचालन गरेका हौँ ।’ ढकालका अनुसार विशेषगरेर इटहरी, धरान र इनरुवा क्षेत्रमा बढी संख्यामा र अन्य क्षेत्रमा पनि आवश्यकताअनुसार सेनालाई प्रयोग गरिनेछ ।

‘यति संख्यामै सेना परिचालन गरियो भन्ने छैन, तर महामारी नियन्त्रणका लागि भनेर आवश्यकता अनुसार संख्या थप्दै जान पनि सकिन्छ,’ ढकालले भने, ‘सुनसरीमा कोरोनाको जोखिम छ, भोलिका दिनमा थप समस्या नआओस् भन्नका लागि सेना परिचालन गरिएको हो ।’ उनका अनुसार जिल्लामा दैनिक रुपमा संक्रमित र मृत्युको संख्या बढ्दै गएकाले सचेत र नियन्त्रणका लागि सेना परिचालन गरिएको हो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया