सुनामीबाट मुत्यु हुनेको सङ्ख्या चार सय २८ पुग्यो, हजारौं विस्थापित

शर्मिला गुरुङ

कारिता, इन्डोनेसिया, १० पुस (रासस÷एएफपी) : इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४२८ पुगेको छ ।

यस प्रकोपमा एक हजार २१ जना घाइते हुनुका साथै ७७ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले जानकारी दिनुभएको छ ।

सो प्रकोपका कारण हजारौं स्थानीयवासी विस्थापित भएको पनि उहाँले जानकारी दिनुभयो । ज्वालामुखी विस्फोटपछि आएको सामुद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ ।

इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीका कारण मङ्गलबार बिहानसम्म ३९७ जनाको मृत्यु भएको पाइएको थियो ।

यस प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवन ध्वस्त भएको प्रवक्ता सुटोपोले थप जानकारी दिनुभयो । खोज तथा उद्धारको कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने सुटोपोले बताउनुभयो ।

इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ । शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीहरुले ‘क्राकाटोआ’ नामकरण गरेका छन् ।

भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसपछि समुद्रमुनिको जमिनमा पहिरो गएकाले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।

यस वर्ष इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो । यसअघि जुन, अगस्ट र सेप्टेम्बर महिनामा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीमा कारण दुई हजार २०० व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया