सुरक्षाको माग गर्दै सरिता लामिछानेले गरिन पत्रकार सम्मेलन

शर्मिला गुरुङ

काठमाडौँ : यहि आउदो जेष्ठ २५ गते शनिबार हुन लागेको चलचित्र कलाकारनिर्बाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी कलाकार सरिता लामिछानेले आफ्नो पिडा दुखेसो, एजेन्डा र गुनासो पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेकी छिन् । सरिताको पत्रकार सम्मेलनमा नायिकाहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उपस्थित भएका थिए । तिनै जना नायिकाले महिला नेतृलाई साथ दिन आग्रह गरे भने सहि व्यक्तिलाई नेतृत्वमा ल्याउन समेत आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा सरिताले आफ्नो एजेन्डा भन्दा बढी आफूले उम्मेदवारी दिएपछि भोगेको पीडा प्रस्तुत गरिन् । २० बर्ष भन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेपनि आफूलाई गैह्र कलाकारको आरोप लगाइएको बिषयमा उनले मन दुखेको बताइन् । सरिताको प्रश्न थियो–‘नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएपछि मैले धेरै किसिमका धाकधम्की र वेइजती सहिरहनु परेको छ । अझ विभिन्न घटनाक्रमहरुले आफ्नो ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।’ गाडी नम्बर टिप्ने, घर अगाडी आएर घर देखाउने, घर न टिप्ने जस्ता कार्य भईरहेको उनले बताइन ।

उनले आफूलाई गैह्र कलाकार भन्नेहरुलाई नै प्रश्न सोध्दै भनिन्–‘तीन बर्ष महासचिव म के हैसियतले भएँ ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ, म ती मुद्दावालाहरुलाई सोध्न चाहन्छु ।’

उनले चुनावमा हार वा जीत हुने भन्दै आफ्नो प्रतिस्पर्धा गर्न पाउने अधिकार कसैले पनि खोस्न नपाउने बताइन् । यस्तै, आफ्नो एजेन्डा सार्वजनिक गर्दै सरिताले चलचित्र कलाकार संघको आफ्नै भवन निर्माण गर्ने बताइन् । उनले भनिन्–‘मलाई भोलीका दिनमा काम नै गर्न दिइएन भने म पत्रकारहरुको अगाडि नै आएर माफी माग्नेछु । तर, मैले काम गर्ने वातावरण पाएको खण्डमा चलचित्र संघको आफ्नै भवन हुनेछ ।’

यस्तै, उनले चलचित्र क्षेत्रमा नयाँ र पुराना कलाकारलाई मिलाएर एक ढिक्का बनाउने बताइन् । सरिताले कलाकारहरुका लागि पेन्सनको पहल गर्ने समेत अन्य धेरै एजेन्डा अगाडि सारेकी छिन् । साथै सम्पूर्ण कलाकार पत्रकारहरुलाई यस अभियानमा साथ् दिन र सत्यलाइ उजागर गर्न समेत आग्रह गरेकी छिन ।

प्रेस विज्ञप्ती :
आदरणीय सञ्चारकर्मी मित्रहरु
उपस्थितिका लागी हार्दिक नमस्कार !
उपस्थित अग्रज कलाकार, मेरा शुभचिन्तक र सहयोद्धा मित्रहरुलाई पनि म स्वागत गर्दछु ।

विषय – म माथि हुँदै आएका ज्याजतीका वारेमा जानकारी गराउने उद्धेश्य ।

सञ्चारकर्मी मित्रहरु, यही जेठ २५ मा नेपाल चलचित्र कलाकार संघको चुनावी साधारणसभा हुँदैछ । र, मैले अध्यक्षको रुपमा उम्मेदवारी दिएको समाचार यहाँहरुले प्रकाशित पनि गरिसक्नु भएको छ । चुनावी प्रतिस्पर्धाको तीन दिन अघि म आफ्ना मतदाता भेट्दै र आफ्ना एजेन्डा सुनाउँदै चुनावी माहोल वनाउन सक्रिय हुनुपर्ने वेलामा आफूमाथि भएका ज्याजती सुनाउँदै हिड्नु परिरहेको छ । पत्रकार मित्रहरु, एउटा उम्मेदवारका लागी यो निश्चय नै दुःखद पक्ष हो । तर, म माथि भइरहेका ‘ह्या¥यासमेन्ट’का प्रयासहरु झनै दुःखद छन् ।
मैले भनिरहनु पर्दैन की म दुई दशकदेखि चलचित्रकर्ममा सक्रिय छु । अर्को पेशा नगरी र नसोचिकनै मैले यसै क्षेत्रवाट प्राप्त आम्दानीले गुजारा चलाउँदै आएकि छु । यस क्षेत्रवाट मैले मनग्गे मान–सम्मान र आदर–सत्कार कमाएको महसुस समेत गरेकीछु ।

अभिनय कलाका साथै नेपाल चलचित्र कलाकार संघको महासचिव भएर तीन बर्ष गुजारिसकेको पनि मैले यहाँहरुलाई पक्कै भनिरहनु पर्दैन । मैले सार्वजनिक जीवनमा निर्वाह गरेको भूमीका यिनै दुईवटा हुन् । तर, नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएपछी भने मैले धेरै किसिमका धाकधम्की र बेइज्जती सहिरहनु परेको छ । अझ विभिन्न घटनाक्रमहरुले आफ्नो ज्याननै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।
संघको अध्यक्षमा चुनाव लड्ने निर्णय लिएपछी सिडियो कार्यालयमा सरिता लामिछाने कलाकार नै होइन भनेर मुद्दा हालियो । तीन बर्ष महासचिव म के हैसियतले भए ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ म ती मुद्धावालाहरुलाई सोध्न चाहान्छु ।

अर्को बिडम्बना के छ भने एक पटक सम्पूर्ण प्रमाणहरु पेश गरिसकेपछी फेरि–फेरि उही शैलिका मुद्दा परिरहयो सिडियो कार्यालयमा । मैले घर–परिवार, काम सवै छोडेर त्यही अनावश्यक मुद्दाको सामना गरिरहनु प¥यो । बरिष्ठ चलचित्रकर्मीहरु सम्मिलित छानमिन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेपछी र सिडियो कार्यालयले मलाई ‘क्लिन चिट’ दिइसकेपछी पनि अनेकौं अर्नगल प्रचार र धाकधम्की दिन छोडिएन । ‘नोमिनेशन’ गर्ने दिनमा समेत संघको कार्यालयमा आएर हुलहुज्जत गरियो । निवर्तमान कार्यसमितिमा सदस्य रहेका र सचिवका उम्मेदवार समेत रहेका कलाकारमाथि कुटपिट गरियो । मलाई समेत मनपरी गाली गरियो । र, उल्टै पुलिस बोलाएर हामी माथि लाल्छना लगाईयो । प्रहरीले हामीलाई थाना बोलायो, बयानकालागी । त्यो दिन पुलिसको पछी लाग्दा लाग्दै सकियो। त्यससँगै पटक-पटक र विभिन्न निकायमा चुनाव रोक्नकोलागी र सरिता लामिछानेको उम्मेदवारी खारेज गर्न निवेदन र विभिन्न धम्कीहरु दिईरहियो ।

अध्यक्षमा ‘नोमिनेशन’ गरेसँगै म माथि निगरानी समेत बढाइएको छ । म हिडेपछी मोटरसाइकल मार्फत मुस्तन्डेहरुले पछ्याउन थालेका छन्, घर नै सम्म । अस्तीको दिन साँझ घर नं टिप्न दुईजना आएका थिए । छोटकरीमा भन्दा मलाई प्रत्यक्ष पनि र अप्रत्यक्ष पनि तर्साउने प्रयास भइरहेको छ ।

चुनावमा प्रतिस्पर्धा हुन्छ र रिजल्ट हारजीतमा आउँछ । यो सामान्य प्रक्रिया हो । जो म हृदयदेखि नै स्वीकार्न तयार छु । मैले जित्नै पर्छ भन्ने छैन । तर प्रतिस्पर्धा गर्न पाउने मेरो अधिकार खोस्ने छुट कसैलाई छैन भन्ने मलाई लाग्छ । म राजनीतिलाई सम्मान गर्छु । तर, कलाकार–कलाकारलाई फुटाउने पार्टीगत राजनीति हावी भएको संघ पटक्कै सोच्न सकिदैन ।

पत्रकार मित्रहरु, मलाई के पनि लाग्छ भने ती केही दुसित मानसिकता भएकाहरु एउटी महिला नेतृत्वमा आएको हेर्न चाहादैनन् । आइमाइ हो, तर्साएर खेद्नुपर्छ भन्ने मानसिकताले उनीहरु काम गरिरहेका छन् भन्ने मलाई लाग्छ । मलाई घर वाहिर र भित्र पनि अपराधी बनाउने कोशिस भइरहेको छ, पत्रकार साथीहरु । सिडियो कार्यालय र पुलिसकहाँ धाउँदा छोरीले सोध्छिन् ‘आमा के अपराध गरेऊ’ ? पत्रकार मित्रहरु, भन्नुहोस् म छोरीलाई के जवाफ दिउँ ? घर नेपालगञ्जवाट ८६ बर्षका ससुराबाले यही प्रश्न गर्नुहुन्छ ? झापावाट बुवा–आमाले यसै प्रकारका प्रश्न गर्नुहुन्छ । म क–कस्लाई के जवाफ दिऊँ, मलाई सुझाव चाहियो । के मैले कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिनु नै अपराध हो ?

अन्त्यमा, प्रजातान्त्रिक प्रक्रिया, मानवअधिकार, महिलाअधिकार र समग्रमा नैसर्गिक अधिकारका सिद्धान्तभन्दा वाहिर गएर जुन चरित्र र संस्कार एउटा कोणवाट म माथि प्रदर्शन गरिदैछ, त्यसको सामना कसरी गरुँ ? मलाई सुझाव चाहियो । म माथिका यी ज्याजतीलाई म कसरी चिरुँ ? सल्लाह चाहियो । यहाँहरुबाट मैले प्रश्नसँगसँगै सुझाव–सल्लाहको अपेक्षा समेत गरेकीछु । धन्यबाद

सरिता लामिछाने
कलाकार

प्रतिक्रिया